एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप

नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं ।  नेपाल एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ‘ए’टोलीसँग ४ विकेटले पराजित भएको छ ।

श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा शुक्रबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका लागि महम्मद तय्यब ताहिरले ६७ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ५१ रन बनाए । यसैगरी ओमिर बिन युसुफले ३६, कम्रन गुलामले ३०, सइम अयुबले २४ र हसिबुल्लाहले १२ रन बनाए । 

तेस्रो विकेटका लागि ताहिर र युसुफले ६४ रनको साझेदारी गरे ।

नेपालका लागि ललितनाराण राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७९ रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रनको योगदान गरे  । यसैगरी प्रतिश जिसीले २६, कुशल मल्ल र अर्जुन साउदले समान १७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन जोडे । 

नवौं विकेटका लागि सोमपाल र प्रतिशले ५८ रनको साझेदारी गरे ।  

पाकिस्तानका लागि शहनवाज दहानी ५, महम्मद वासिमले ४ र मुबासिर खानले १ विकेट लिए ।  

अब सोमबार नेपालले भारत ‘ए’तथा पाकिस्तानले युएई ‘ए’ को सामना गर्नेछन् ।