खेलाडी सम्मान

यू-१६ खेलाडीलाई नगर प्रमुख हमालको सम्मान

धनगढी, २६ असार। अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसिसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका तीन जना खेलाडीलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सम्मान गरेका छन् ।

हमालले सुदूरपश्चिमका आशिष लुहार, नरेन भट्ट र अशोक धामीलाई सोमबार सम्मान गरेका हुन् ।

घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्राे पटक यू-१६ इस्ट जोनको उपाधि जितेको थियो ।

धनगढी क्रिकेट एकेडेमीकै नरेनले फाइनलमा शतक प्रहार गरेका थिए । यस्तै आशिष पनि धनगढी क्रिकेट एकेडेमीकै उत्पादन हुन् । अशोक बझाङका हुन् ।

एकेडेमीले सम्मान गर्दै उनीहरुलाई निशुल्क प्रशिक्षण गराउने घोषणा समेत गरेको छ ।

हमालले ग्रासरुटको विकासमा धनगढी उपमहानगरपालिकाले लगानी गर्ने बताए ।

‘यहाँ प्रतियोगितामा पैसा खन्याउँने, पैसा माग्ने गलत संस्कृति विकास भएको छ । तर हामीले नर्सरीमा लगानी गर्नुपर्ने हो,’ हमालले भने,‘प्रतियोगिता आयोजना सरकारले गर्ला तर धनगढीले खेलाडी उत्पादनमा जोड दिन्छ । ग्रासरुट लेभलको विकासमा हामी लगानी गर्छौ ।’

हमालले एकेडेमीका अध्यक्ष सुवास शाहीको धनगढीलाई सिटी अफ क्रिकेट बनाउँने परिकल्पनालाई निती तथा कार्यक्रममा समेटेको पनि बताए ।

एकेडेमीका व्यवस्थापक श्यामुअल न्यौपानेले सम्मानित तीनजनै खेलाडीहरुलाई बधाई दिदैँ उनीहरुलाई वर्षभरी निशुल्क प्रशिक्षणको व्यवस्था मिलाइएको बताए ।

‘हाम्रो एकेडेमीका उत्पादनहरुले अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट प्रदर्शन गर्दै त्यसकै लागि ट्रफी भित्र्याउनु हाम्रा लागि ठूलो गर्वको कुरो हो,’ न्यौपानेले भने, ‘उहाँहरुको मिहिनेतको सम्मान गर्दै आगामी खेलकुद जीवन अगाडि बढाउँन सहज होस भन्ने उद्देश्यले हामीले पूर्ण छात्रवृत्तिमा प्रशिक्षण गराउँने भएका छौं ।’