एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

पुलिसको सहज जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा मंगलबार सम्पन्न खेलमा पुलिसले दावाँली मिलन क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले खेल २५-२१,२५-१९ र २५-१७ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै  पुलिसले ३ खेलमा ८ अंक जोडेको छ । लगातार चौथो पराजय ब्यहोरेको दावाँली अंकविहिन छ ।

यसअघि पुलिसले गण्डकी प्रदेशलाई ३-२ र शैलुङ बागढुङ्गा स्पोर्टस क्लबलाई ३-० को सेटमा हराएको थियो । दावाँलीले नेपाल एपिएफ, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोर्टस क्लबसँग समान ३-० सेटको पराजय ब्यहोरेको थियो ।

अब बुधबार पुलिसले हेल्प नेपाल र दावाँलीले शैलुङ्गको सामना गर्नेछन् ।

महिलातर्फ मंगलबार नै सम्पन्न खेलमा एपिएफले एभरेस्टमाथि ३-० र न्यू डायमन्ड युथ स्पोर्टस क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३-२ को सेटमा जित निकाले ।

यसैगरी पुरुपतर्फ हेल्प नेपालले गण्डकी र एपिएफले शैलुङ्ग बागढुङ्गाको सामना गर्नेछन् ।