आइसिसी एकदिवसीय विश्वकप छनोट

वेस्ट इन्डिज एकदिवसीय विश्वकप छनोटबाट बाहिरियो

काठमाडौं । सुपर सिक्सको आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएसँगै दुई पटकको च्याम्पियन वेस्ट इन्डिज आइसिसी एकदिवसीय विश्वकप छनोटबाट बाहिरिएको छ ।

वेस्ट इन्डिज समूह चरणबाट अंक विहीन हुँदै सुपर सिक्समा आएको थियो । वेस्ट इन्डिजले  बुधबार ओमान र शुक्रबार श्रीलंकासँग खेल्नेछ । दुवै टोलीलाई हराए पनि वेस्ट इन्डिजको ४ अंक हुन्छ । उता जिम्बावे र श्रीलंकाको समान ६ अंक पुगिसकेको छ ।

जित निकालेको स्कटल्यान्ड ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ । स्कटल्यान्डले मंगलबार र जिम्बावे र बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ । दुवै खेलमा विजयी भए विश्वकपको सम्भावना रहन्छ ।

जिम्बावेको हरारे स्पोर्टस क्लबमा १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । स्कटल्यान्डले वेस्ट इन्डिजलाई एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक हराएको हो ।

स्कटल्यान्डका लागि  म्याथ्यु क्रसले १ सय ७ बलमा ७ चौकाको मद्दतमना अविजित ७४ रनको योगदान गरे ।  

ब्रेन्डन म्याकमुलेनले १ सय ६ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६९, जर्ज मुन्सेले १८ र कप्तान रिची बेरिङ्टनले अविजित १३ रन जोडे ।

दोस्रो विकेटका लागि म्याकमुलेन र क्रसले १ सय २५ रनको साझेदारी गरे ।

वेस्ट इन्डिजका लागि जेसन होल्डर, रोमारियो शेफर्ड र अकिल हुसेनले समान १ विकेट लिए ।

यसअघि  टस हारेर  ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले  ४३.५ ओभरमा सबै विकेट गुमाउँदै  १ सय ८१ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका  लागि जेसन होल्डरले ७९ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४५ रनको योगदान गरे । यसैग्र िरोमारियो शेफर्डले ३६, ब्रेन्डन किंगले २२, निकोलस पुरनले २१,  कप्तान साइ होपले १३ र केभिन सिनक्लियरले १० रन बनाए ।

सातौं विकेटका लागि जेसन होल्डर र रोमारियो शेफर्डले ७७ रनको साझेदारी गरेका थिए ।

स्कटल्यान्डका  लागि म्याकमुलेनले ३, क्रिस सोल र मार्क वाट र क्रिस ग्रेभ्सले समान दुई तथा सफ्यान शरिफले एक विकेट लिए ।