एकदिवसीय विश्वकप छनोट

एकदिवसीय विश्वकप छनोट: श्रीलंका सुपर सिक्समा

काठमाडौं । श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयरल्यान्डमाथि एक सय ३३ रनको फराकिलो जित निकालेको छ ।

लगातार तेस्रो जितका साथ समूह ‘बी’ को  श्रीलंकाले सुपर सिक्समा स्थान पक्का गर्दा लगातार तेस्रो परजाय ब्यहोरेको आयरल्यान्ड समूह चरणबाटै बाहिरिएको छ  ।

जिम्बावेको क्विन्स स्पोर्टस क्लबमा आइतबार सम्पन्न खेलमा श्रीलंंकाले प्रस्तुत गरेको तीन सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ३१ ओभरमा एक सय ९२ रनमै समेटियो ।

आयरल्यान्डका लागि कर्टिस क्याम्फरले ३९, ह्यारी टेक्टरले ३३, जर्ज डकरेलले अविजित २६, जोसुवा लिटिलले २०,ग्यारेथ डेनालीले १९ र कप्तान एन्डी बलब्रेनीले १३ रन बनाए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले १० ओभरमा ७९ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी  महेश थिक्सेनाले दुई तथा कसुन रजिथा, लाहिरु कुमारा र दासुन सनकाले  समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै तीन सय २५ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकका लागि दिमुथ करुणारत्नले एक सय तीन बलमा आठ चौकको मद्दतमा एक सय तीन रनको योगदान गरे । यसैगरी सदिरा समराविक्रमाले ८६ बलमा चार चौकाको मद्दतमा ८२, धानन्जय डि सिल्भाले अविजित ४२, चरिथ अस्लंकाले ३८ र पथुम निसन्काले २० रन जोडे ।

तेस्रो विकेटका लागि करुणरत्ने र समराविक्रमाले एक सय ६८ रनको साझेदारी गरे ।

आयरल्यान्डका लागि मार्क अदिरले चार, ब्यारी म्याकर्थी तीन तथा ग्यारेथ डेनालीले दुई विकेट लिए ।