आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-दुई

सन्दीपलाई समेट्दै नेपाली टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । बलात्कारको आरोप खेपिरहेका पूर्व कप्तान सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीमा फर्किएका  छन् ।

क्यानले बिहिबार सन्दीपलाई समेट्दै आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-दुई अन्तर्गत घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखला आउँदो फागुन दुई गतेदेखि सुरु हुनेछ ।

सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन् ।

नाबालिग बालात्कारको आरोप लागेपछि क्यानले गएको भदौ २३ मा सन्दीपलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशपछि सन्दीप पुस २९ मा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । धरौटीमा रिहा भए पनि सन्दीपविरुद्धको मुद्दा अझै विचाराधिन अवस्थामा छ ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

भदौ पाँच गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले आत्मासमर्पण गरेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

गएको मंगलबार र बुधबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो ।

सन्दीप फर्किए पनि टोलीको कप्तानी भने रोहितकुमार पौडेलले नै सम्हाल्ने छन् ।

नेपाली टोली
रोहितकुमार पौडेल(कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायाण राजवंशी, गुल्सन झा, भिम सार्की र सूर्य तामाङ