एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

सातौं एनभीए क्लब च्याम्पियनसिप भलिबल पुस अन्तिम साता

फाइल तस्बिर

काठमाडौं । नेपाल चलिबल संघको आयोजनामा हुने सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुसको अन्तिम साताबाट सुरु हुने भएको छ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत च्याम्पियनसिप पुस २४ गतेबाट माघ १ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।

च्याम्पियनसिपमा पुरूषतर्फ १४ र महिलातर्फ आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रि खेलकुद परिषद (राखेप) को कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, नेपाल एपिएफसहित हेल्प नेपाल स्पोर्टस क्लब,नयाँबजार सामाजिक युवा क्लब,दाँवाली मिलन क्लब,गल्कोट स्पोर्टस क्लब बाग्लुङ,मणिमुकुन्द भलिबल क्लब बुटवल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर,बागमती प्रदेश,बुढानिलकण्ठ भलिबल क्लब,गण्डकी प्रदेश र मधेश प्रदेशको सहभागिता रहने छ ।

यसैगरी महिलातर्फ त्रिभुवन आर्मी,नेपाल पुलिस,नेपाल एपिएफ,न्यू डायमण्ड स्पोर्टस क्लब,जावलाखेल भलिबल ट्रेनिङ सेन्टर,गण्डकी प्रदेश,ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवलको सहभागिता रहनेछ ।

लिगकम नकआउटका आधारमा आयोजना हुने च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख रुपौयाँ  पाउनेछन् । उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपौयाँ पाउनेछन् ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार  रुपौयाँ पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा सहभागी टोलीले तीन जना विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी–एनभीए क्लब लिग खेल्न पाउने छन् ।