बाग्मती प्रदेश न्यू डायमन्ड कप

कोपिला सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाल पुलिस क्लबकी कोपिला राना बाग्मती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

कीर्तिपुरस्थित बहुउद्देस्यीय कभर्डहलमा सम्पन्न प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन कोपिलाले  महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले २५ हजार  रुपैयाँ प्राप्त गरिन् ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमन्ड स्पोर्टस् क्लबको संयुक्त आयोजनामा पाँच दिनसम्म चलेको प्रतियोगितामा शनिबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २५-१६, २७-२५, २५-१९ को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।

यस्तै, व्यक्तिगत विधातर्फको उत्कृष्ट ब्लकर एपिएफकी उषा बिस्ट, पुलिसकी कमला पुन सेटर, कोपिला उप्रेती सर्भर, एपिएफकी रेश्मा भण्डारी स्पाइकर, डायमन्डकी एन्जिला प्रधान लिब्रो र पुलिसका रुपेश बिष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । विधातर्फको उत्कृष्ट सबैले १० हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडी चुनिएकी डायमन्डकी स्पाइकर सलिना बुढामगरले २० हजार रुपैयाँ प्राप्त गरिन् ।