जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिता

जुनियर वर्ल्ड र्याङकिङ टेनिसः प्रणव दोश्रो चरणमा

काठमाडौं । नेपालका प्रणव मानन्धर जे ६० जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-२ अन्तर्गत ब्वाइज सिंगल्समा सोमबार दोश्रो चरणमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगितामा प्रणवले भारतका पन्शुल उबोभेजालाई ६-२,३-६,६-२ को सेटमा पराजित गरे । पहिलो दिन ब्वाइज/गर्ल्स सिंगल्समा क्रमशः १० र १२ खेल भएका थिए । 

ब्वाइजमा प्रणवसहित ३ तथा गर्ल्समा ५ गरी ८ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बाँकी ७ खेलाडी पराजित रहे ।

ब्वाइज सिंगल्समा चाइनिज ताइपेईका येन छुन वाङले सक्षमविक्रम शाहलाई ६-१,६-१ तथा ताइपेर्ईका हुङ यु छेनले राजवीर प्रधानलाई ३-६,६-३,६-१ को सेटमा हराए ।

गल्र्स सिंगल्समा जापानकी अमाने हतोरीले थापालाई ६-०,६-०, जापानकी लिसा अन्जाइले आइशा डोल्कर गुरुङलाई ६-१,६-१, भारतकी स्निग्धाकान्तले स्वस्तिका विष्टलाई ६-२,६-१, चेकोस्लोभियाकी भेरोनिका कौतोभाले प्रशंसा मोक्तानलाई ६-१,६-० तथा सर्किट-१ की विजेता चीनकी जि ये झाङले प्राज्ना मानन्धरलाई ६-०,६-१ को सोझो सेटमा स्तब्ध बनाए ।