अस्ट्रेलियन ओपन

कीर्तिमानी टाइब्रेकरमा रेबाकिनालाई हराउँदै ब्लिन्कोभा तेस्रो चरणमा

काठमाडौं । साविक उपविजेता एलिना रेबाकिनाविरुद्ध २-१ को रोमाञ्चक सेटमा जित निकाल्दै रसियन खेलाडी एन्ना ब्लिन्कोभा वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

बिहीबार रोड लभेर एरिनामा सम्पन्न खेलमा पहिलो सेट ब्लिन्कोभाले ६-४ ले जितेकी थिइन् । दोस्रो सेट ६-४ ले आफ्नो पक्षमा पार्दै काजकिस्तानकी रेबाकिनाले खेललाई १-१ को बराबरीमा ल्याइन् ।

तेस्रो सेटमा ७-६ (२२-२०) ले जित्दै ब्लिन्कोभाले तेस्रो चरणमा स्थान पक्का गरेकी हुन् । अस्ट्रेलियन ओपनको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा लामो टाइब्रेकर हो ।

यसअघि सन् २००७ को संस्करणमा जो विलफ्रिड सोङ्गा र एन्डी रोडिकबीचको खेलको टाइब्रेकर २०-१८ सम्म चलेको थियो । उक्त टाइब्रेकर सोङ्गाले जितेका थिए ।

ब्लिन्कोभाले अब चौथो चरण प्रवेशका लागि इटालीकी ज्यास्मिन पाओलिनीको सामना गर्नेछिन् । पाओलिनीले जर्मनीकी तात्जाना मारियालाई ६-२ ६-३ को सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन् ।

बिहीबार नै भएको खेल जित्दै इगा स्वायटेक र एलिना स्भितोलिनाले तेस्रो चरण यात्रा तय गरे । ब्रिटिस स्टार इमा राडुकानु र अमेरिकी स्टार जेसिका पेगुलाको यात्रा भने दोस्रो चरणमै सिमित बन्यो ।