टेबल टेनिस

नविता, संयोग र विनेशको विजयी सुरुवात

काठमाडौं । विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– २०२० सुरुवात भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरुवात भएको खेलमा पहिलो दिन नेपालका तीन खेलाडीले विजयी सुरुवात गरे ।

पुरुषतर्फ संयोग कपाली र बिनेश खनियाले विजयी सुरुवात गरे । समूह डी को खेलमा संयोगले बंगलादेशका नाफिज इक्बालाई सोझो सेटमा पराजित गर्न सफल भए । संयोगले ११–६, ११–६ र ११–९ ले जित निकाल्दै दुई अंक जोडे ।

यसैगरी बिनेशले बंगलादेशका फहाद खवाजालाई ३–२ को सेटमा पराजित गरे । उनले ११–८, ९–११, ३–११, ११–६, ९–११ ले जित निकाल्दै विजयी सुरुवात गरे । समूह एफ मा विनेश दुई अंक सहित शीर्षस्थानमा छन् ।

महिलातर्फ नबिता  ले श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा पराजित गरिन् । सहज जित निकाल्नेक्रममा नविताले ११–३, ११–९ र ११–१० ले जित हासिल गरेकी हुन् ।

पुरुषतर्फ समूह ए को खेलमा नेपालका शिब सुन्दर गोथे भारतका सनिल शंकर सेटीसँग सोझो सेटमा पराजित भए । यसैगरी समूह सी नेपालका रुविन महर्जन पाकिस्तानका मोहम्मद शाह खानसँग ३–२ को सोझो सेटमा हार बेहोरे । निकै नै प्रतिस्पर्धात्मक बनेको समूह इ मा नेपालका प्रदीप रोका पाकिस्तानका फैजान जाहूरसँग ३–२ सेटले पराजित भएका थिए ।

महिलातर्फको खेलमा इभाना थापा पहिलो खेलमा भारतकी रीथ रिस्या टेनिसनसँग ३–० को सोझो सेटमा पराजित भइन् । इभानाले खेल ११–२, ११–५ र ११–४ ले गुमााइन् । समूह सीमा दुबै खेल जितेकी भारतीकी रीथले चार अंक जोड्दै शीर्षस्थानमा रहिन् ।

यसैगरी रविना महर्जन समेत समूह डी को खेलमा श्रीलंकाकी कसुनी हिमाया पिटिगालासँग  ३–१ ले पराजित भइन् । समूह इ मा सिका सुवाल श्रेष्ठले भारतकी दिया पाराङ चितलसँग ३–० कै सोझो सेटमा पराजित भइन् । यसैगरी समूह जी मा एलिना महर्जन श्रीलंकाकी महीशा सिलन्दा गस्टसँग ३–० को सोझो सेटमा हार बेहोर्न पुगिन् ।

साउथ एसियन रिजनल च्याम्पियन्सिप आजबाट सुरु भइ २५ मंसिरसम्म आयोजना हुनेछ । प्रतियोगितामा पुरुष तथा महिलातर्फका शीर्ष १६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट हुनेछन् । नेपालबाट पुरुष र महिलातर्फ पाँच पाँच खेलाडी सहभागी छन् ।