राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

राष्ट्रिय खेलकुद प्रतिभाबाट नौ जना सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी नौ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।

सम्मानित हुने खेलाडीमा मेनुकाकुमारी राजवंशी (कबड्डी), नविता श्रेष्ठ (टेबल टेनिस), शिवसुन्दर गोथे (टेबल टेनिस), एरिका गुरुङ (कराले), शुभश्री श्रेष्ठ (टेबल टेनिस) र पलेशा गोवर्धन (पारा तेक्वान्दो) छन् ।

यसैगरी प्रशिक्षकमा पार्वती राई (कबड्डी), निर्णायकमा तेजेन्द्रसिंह महरा (टेबलटेनिस) र फिजियो थेरापिस्ट आविस्कार पुडासैनी (फुटबल) सम्मानित भए। सम्मानित सबैलाई जनही एक लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

रेग्मीलाई राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार
सोही अवसरमा राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई सम्मान गरियो ।

रेग्मीलाई युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट प्राप्त आवेदनको मूल्यांकनका आधारमा छनोट गरी ५० हजार रुपैयाँ सहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । रेग्मी लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् ।

त्रिभूवन विश्व विद्यालयबाट पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर गरेका रेग्मीले २०६० सालमा राष्ट्रिय समाचार समितिबाट प्रशिक्षार्थाी पत्रकारको रुपमा पत्रकारिता सुरु गरेका थिए । त्यसपछि लामो समय अन्नपूर्ण पोस्ट दैनिकमा काम गरेका उनी हाल गोरखापत्र अनलाइनमा कार्यरत छन् ।

यस्तै मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ बागमतीबाट गोविन्दराज नेपाल (अनलाइनखबर), कोशीबाट हरिप्रसाद कोइराला (गोरखापत्र दैनिकं, मधेशबाट तिवारी यादव (नयाँ पत्रिका), गण्डकीबाट रोहितराज पराजुली (नयाँ पत्रिका), लुम्बिनीबाट रिखीराम जिसी (समाधान दैनिकं, कर्णालीबाट नन्दराम जैसी (हिमालयन टाइम्स), सुदूरपश्चिमबाट नवाज पनेरु (बाह्रखरी अनलाइर्न) र महिलाबाट दैलेखकी रजनीकुमारी योगी (गोरखापत्र)लाई सम्मान गर्यो। प्रोत्साहन पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।