नेपाली फुटबल

महिला टोलीको प्रशिक्षकमा अनन्त नियुक्त

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्तराज थापालाई नियुक्त गरेको छ ।

एन्फाले आइतबार भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थापालाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् ।  

नेपाली राष्ट्रिय पुरुष टोलीका पूर्व मिडफिल्डर अनन्त पहिलोपटक नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । उनीसँग ए डिभिजन लिगको नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालेको अनुभव भने छ । 

 यसैगरी टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन् । मैत्रीपूर्ण खेलको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरिएको छ ।

नेपालले  घरेलु टोली भारतसँग फागुनमा मैत्रीपूर्ण खेल खेल्ने भनिए पनि मिति भने तय भइसकेको छैन ।