इटालियन सिरी ए

विशेष अवसर खेर जान नदिने स्पालेट्टीको दाबी

मिलान । नेपोलीका प्रशिक्षक लुसानियो स्पालेट्टीले आफूहरुले इटालियन सिरी ए उपाधि जित्ने सम्भावना बलियो बन्दै गएकाले यो सुनौलो अवसर खेर नफाल्न खेलाडीलाई आग्रह गरेका छन ।

शनिबार सिरी ए मा शीर्ष स्थानको नेपोलीले सेल्निटानामाथि २-० को जित निकालेको थियो । नेपोलीको जितमा जियोभानी डी लोरेन्जो र भिक्टर ओसिमहेनले समान एक गोल गरे ।
नेपोली १९ खेलमा ५० अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको साबिकको विजेता एसी मिलानभन्दा १२ अंक बढी हो । यद्धपी मिलानले एक खेल कम खेलेको छ ।

तेस्रो स्थानको इन्टर मिलानको ३७, चौथो र पाँचौ स्थानको लाजियो तथा एटलान्टाको समान ३४ अंक छ ।

मिलानले मंगलबार लाजियोको भ्रमण गर्नेछ । नेपोली मध्य सिजनमा ५० अंक पुर्याउने तेस्रो टोली बनेको छ  । यसअघि २०१३–१४ र २०१८–१९ मा युभेन्टस तथा २००६–७ मा इन्टरले मध्य सिजनमै ५० अंक पुर्याउने उपलब्धी हासिल गरेका थिए ।

‘हामीमाझ सुनौलो अवसर आएको छ र हामी त्यसलाई खेर जान दिने पक्षमा छैनौ’, स्पालेट्टीले भने, ‘तर हामीले धेरै आत्मविश्वासी बन्दै स्वभाविक लय भने गुमाउनु हुन्न ।’