च्याम्पियन्स लिग

सिटीको सहज जित, चेल्सी स्तब्ध

लन्डन । स्ट्राइकर एर्लिङ हाल्यान्डले गोल लय कायम राख्दा इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ । 

हाल्यान्डको दुई गोल मद्दतमा सिटीले समूह ‘जी’ को पहिलो खेलमा सेभियामाथि ४-० को सहज जित निकालेको हो ।

यसै सिजन जर्मन बुन्डेसलिगाबाट सिटी आएका हाल्यान्डले प्रिमियर लिगमा टोलीका लागि ६ खेलमा १० गोल गरिसकेका छन् । उनले च्याम्पियन्स लिगमा पनि सिटीबाट गोल खाता खोले । उनले सिटीबाट समग्रमा सात खेलमा आफ्नो गोल संख्या १२ पुर्याएका  छन् । 

पहिलो हाफमा १-० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप तीन गरेको थियो ।

२०औं मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता लिएको थियो । ५८औं मिनेटमा फिल फोडिनले सिटीको अग्रता दोब्बर पारेका थिए ।६७औं मिनेटमा हाल्यान्डले सिटीको अग्रता ३-० मा पुर्याएका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा रुबेन डियाजले सिटीका लागि चौथो गोल गरेका थिए ।

समूह ‘’जी कै अर्को खेलमा बोरुसिया डर्टमन्डले एफसी कोपनहेगनलाई ३-० ले हरायो ।

यता चेल्सीका लागि भने यस सिजन च्याम्पियन्स लिगको सुरुआत सम्झन लायक रहेन । समूह ‘इ’ अन्तर्गतको खेलमा चेल्सीले डिनामो जागरेभलाई १-० को नतिजा सुम्पियो । 

१३औं मिनेटमा मिस्लाभ ओर्सिचले गरेको गोल जागरेभको जितमा पर्याप्त बन्यो । 

त्यस्तै समुह ‘इ’ कै अर्को खेलमा एसी मिलान र एफसी साल्जबर्गले १-१ को बराबरी खेले ।