साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः भारतलाई पाकिस्तानको चुनौती

काठमाडौं । आठ वर्षको लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको पाकिस्तानको छैटौ साफ महिला च्याम्पियनसिप एक पर्वको रुपमा रहेको छ ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा सहभागिता जनाउन लामो समयपछि नेपाल आएको पाकिस्तानले बुधबार पहिलो खेलमा चिरप्रतिद्धन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

साफ च्याम्पियनसिपमा साविक विजेता भारत र पाकिस्तानको मात्र एकपटक भेट भएको छ । २०१० बंगलादेशमा पहिलो साफको सेमिफाइनलमा पाकिस्तानले भारतलाई ८-० को नतिजामा सुम्पिएको थियो ।

त्यसपछि लगातार तेस्रो साफसम्म सहभागिता जनाएको पाकिस्तानको भेट भारतसँग भएको छैन । चौथो साफबाट सहभागिता नजनाएको पाकिस्तान यो पटक भने बलियो तथा अनुभवी खेलाडीको साथमा मैदान उत्रिदैछ ।

त्यसका लागि टिम पूर्ण रुपमा तयार भएको र विगतका नतिजा सुधार गर्ने लक्ष्य भएको पाकिस्तानका मुख्य प्रशिक्षक आदिल रिज्कीले प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए ।

‘तयारी राम्रो छ । हामीलाई राम्रो प्रदर्शन गर्ने चुनौती छ,’ उनले भने, ‘प्रतियोगितामा राम्रो नतिजा निकाल्ने प्रयास गर्छाै ।’

यो पटक इङ्ल्यान्ड र युएईका खेलाडीले भरिपुर्ण पाकिस्तानी टिमको कप्तानी मारिया खानले गर्दैछिन् । युएईको टिमबाट व्यावसायिक फुटबल खेलदै आएकी मारियाले प्रतियोगिता खेल्नका लागि टिम उत्साहित भएको प्रतिक्रिया दिन्छिन् ।

‘आठ वर्षपछि प्रतियोगिता खेल्दैछौ, खुशी लागेको छ । प्रतियोगिता खेल्न उत्साहित छौं,’ उनले भनिन्, ‘टिममा इङ्ल्यान्ड र युएईका खेलाडीहरु छन् । समूह चरणको सबै खेलमा राम्रो नतिजा निकालने प्रयास गर्छाै ।’

यसैगरी विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको निलम्बनबाट फुकुवा भएर उपाधि रक्षा गर्न आएको भारतलाई एउटा अवसर पनि रहेको छ । लगातार पाँच पटकको च्याम्पियन रहेको भारतका मुख्य प्रशिक्षक सुरेन क्षेत्रीले तयारी थोरै भएकाले उपाधि रक्षा गर्न चुनौती भएको बताएका थिए ।

‘तयारीका लागि धेरै समय पाएनौ । हामी प्रतियोगिता खेल्न आउन पाउँदा खुशी छौं । हामीलाई उपाधि रक्षा गर्ने चुनौती छ,’ उनले भने, ‘उपाधि जित्न सजिलो हुन्छ तर, त्यसलाई रक्षा गर्न धेरै गाह्रो हुन्छ । हाम्रो धेरै योजनाहरु छन् । त्यो भविष्यमा पूरा गर्छाै ।’

भारतकी कप्तान आशालता देवी भने पूराना कुरा भूलेर सबै ध्यान प्रतियोगितामा लगाइरहेको बताउँछिन् ।

‘हाम्रो पूरा ध्यान प्रतियोगितामा छ । दक्षिण एसियामा यो प्रतियोगिता ठूलो मानिन्छ । पूरा तयारी गरेर उपाधि रक्षा गर्न आएका छौ । सबै कुरा भूलेर हामी अगाडि बढ्न चाहन्छौ । सबै ध्यान खेलमा नै छ,’ उनले भनिन् ।