युरोपियन च्याम्पियन्स लिग

रियाल र पिएसजीको जित

मड्रिड । साविकको विजेता रियाल मड्रिडले च्याम्पियन्स  लिगमा विजयी सुरुआत गरेको छ । 

उपाधि रक्षाको लक्ष्यमा रहेको रियालले समूह ‘एफ’ मा सेल्टिकमाथि ३-० को सहज जित निकाल्यो ।

५६औं मिनेटमा भिनिसियस जुनियरको गोलमा रियालले अग्रता लिएको थियो । ६०औं मिनेटमा लुका मोडरिचले रियालको अग्रता दोब्बर पारेका थिए । ७७औं मिनेटमा इडेन हाजार्डले रियालको अग्रता बढाएका थिए ।

पाँच वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको सेल्टिकले रियालविरुद्ध उल्लेख्य प्रदर्शन भने गर्न सकेन ।

पहिलो हाफमा स्ट्राइकर करिम बेन्जेमालाई चोटका कारण गुमाउनु भने रियालका लागि दुखद रह्यो । रियाललाई गत सिजन स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा बेन्जेमा टोलीका महत्वपूर्ण खेलाडी थिए । 

यद्धपी रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने बेन्जेमाको चोट गम्भिर नरहेको बताए ।

समूह ‘एफ’ अन्तर्गतको अर्को खेलमा सख्तर डोनेट्स्कले आरबी लाइपजिगलाई ४-१ ले हरायो ।

यता समूह ‘एच’ मा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले युभेन्टसलाई २-१ ले हरायो ।

पिएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे । युभेन्टसका वेस्टन म्याकिनीले एक गोल गरे पनि त्यो टोलीलाई खेलमा फर्काउन पर्याप्त भएन ।

त्यस्तै समूह ‘एच’ कै अर्को खेलमा बेन्फिकाले मकाबी हैफालाई २-० ले हरायो ।