नेपाल भलिबल संघ

भलिबल संघको केन्द्रिय निर्वाचन आज

काठमाडौं । नेपाल भलिबल संघको चुनावी साधारण सभा आज हुँदैछ ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा हुने संघको चुनाव बिहान आठ बजे उद्घाटन सत्र, मध्यान्न १२ बजे बन्द सत्र हुने संघले जनाएको छ ।

संघको चुनावले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । त्यसकालागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

मास्केको प्यानलबाट महासचिवमा मनवीर छन्त्याल र चन्दको प्यानलबाट रोशन श्रेष्ठले दाबेदारी दिइसकेका छन् ।

कोभिड१९ को महामारी तथा विभिन्न कारणले दुई वर्षअघि नै हुनुपर्ने संघको निर्वाचन भएको थिएन ।

संघको केन्द्रिय निर्वाचनमा एक सय ३३ जनाले मतदान दिन पाउने प्रावधान थियो । तर विवादका कारण बागमती प्रदेशबाट दुई भोट निर्वाचन प्रक्रियामा समावेश नगरिएकाले एक सय ३१ जनाले मतदान दिने संघले जनाएको छ ।

वर्तमान कार्यसमिति, ७७ जिल्ला, प्रत्येक प्रदेशबाट दुई जना, रेफ्री, खेलाडी र क्लब गरि १ सय ३१ जनाले मतदान गर्नेछन् ।