लियोनल मेसी

मेसी फ्रान्समा अझ धेरै सम्मानको हकदारः करेमबेउ

पेरिस । क्रिस्टियन करेमबेउले फ्रेन्च लिग वानमा लियोनल मेसी समर्थकहरुबाट अझ धेरै सम्मानको हकदार भएको बताएका छन् ।

अर्जेन्टिनी स्टार मेसी र ब्राजिलियन स्टार नेइमारलाई च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पिएसजी) रियाल मड्रिडसँग पराजित हुँदै प्रि– क्वार्टरफाइनलबाटै बाहिरिएपछि बार्डोविरुद्धको खेलमा समर्थकहरुले गिज्याएका थिए ।

यद्यपि, फ्रान्सका पूर्व डिफेन्सिभ करेमबेउले भने मेसी फ्रान्सका समर्थकहरुमाझ अझ धेरै सम्मानको हकदार भएको बताए ।

‘मेसी सर्वोत्कृष्ट खेलाडीमध्येका एक हुन् । र, उनी फ्रेन्च लिगको एक आकर्षण पनि हुन्,’ करेमबेउले भने, ‘मेसी एक खेलाडीभन्दा माथिको व्यक्तित्व हुन् । हामीले उनलाई फ्रान्समा अझ धेरै सम्मान दिन आवश्यक छ । किनभने उनी मानिसहरुलाई आफूतिर आकर्षित गर्छन् ।’

यसै सिजनको सुरुआतमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब अनुबन्धित भएका मेसी लिग वानमा स्वभाविक लयका लागि सघर्षरत छन् ।

यस सिजन गोल र असिस्ट गरी २२ गोलमा योगदान गरेका मेसीको यो सन् २००६–०७ पछिकै सबैभन्दा खराव लय हो ।

मेसीको गोल संख्या अझ बढ्न सक्ने थियो । तर, यस सिजन मेसीको कीर्तिमानी १० गोलका लागि गरिएको प्रहारमा पोस्ट बाधक बने ।