सहिद स्मारक ‘सी’ डिभिजन लिग

सानेपा तेस्रो स्थानमा उक्लियो

काठमाडौं । सानेपा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा रानिबारी स्पोर्टस् क्लबलाई ३–१ ले पराजित गर्दै सानेपा तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

सानेपाको जितमा विशेष मगर, खेमराज तामाङ र रविन बमले गोल गरे ।

दीपक विकले ४१औं मिनेटमा गरेको गोलबाट रानिबारीले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

खेलको ६८औं मिनेटमा विशेषले पेनाल्टीमार्फत गोल गर्दै सानेपालाई खेलमा फर्काएका थिए ।

यस्तै, ८२औं मिनेटमा खेमराज र इन्जुरी समयमा रविनले गोल गर्दै सानेपाको जित निश्चित गरे ।

जितसँगै सात खेलबाट १३ अंक जोडेको सानेपाल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट सात अंक जोडेको रानिबारी तालिकाको नवौं स्थानमा छ ।