सहिद स्मारक ‘बी’ डिभिजन लिग

बाँसबारीको सुखद अन्त्य

काठमाडौं । बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुखद अन्त्य गरेको छ ।

शुक्रबार सम्पन्न लिगको अन्तिम खेलमा बाँसबारीले झम्सिखेल युथ क्लबलाई २–१ ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ५४औं मिनेटमा भिष्मराज घिमिरेले गरेको गोलबाट बाँसबारीले अग्रता बनाएको थियो । यस्तै, खेलको ६१औं मिनेटमा बिक्की राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर पारे ।

खेलको ७९औं मिनेटमा सुवासराज गोलेले झम्सिखेलको तर्फबाट एक गोल फर्काएका थिए ।

जितसँगै बाँसबारीले लिगको १३ खेलबाट १९ अंक जोडेको छ । यस्तै, पुछारमा रहँदै लिगको अन्त्य गरेको झम्सिखेलले समान खेलबाट नौ अंक जोडेको छ । झम्सिखेल यसअघि नै तेस्रो डिभिजनमा घटुवा भइसकेको छ ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुने प्रावधान छ ।