युरोपियन च्याम्पियन्स लिग

चेल्सी क्वार्टरफाइनलमा, युभेन्टस बाहिरियो

लन्डन । सेजार एजप्लिक्वेटाको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगको क्लब चेल्सी बुधबार लिललाई अन्तिम १६ दोस्रो लेगमा २-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बेलायत सरकारले चेल्सीका मालिक रोमन अब्रामोभिचको सम्पत्ति रोक्का गरेपछि चेल्सीले युरोपियन प्रतियोगिताहरु खेल्न यात्रा गर्न पाउने वा नपाउने बहस जारी रहँदा चेल्सी सहज जितसहित अन्तिम आठमा प्रवेश गरेको हो ।

 पहिलो लेगमा २-० को जित निकालेको चेल्सी समग्रमा ४-१ को नतिजासहित अघिल्लो चरण पुगेको हो ।

३८औं मिनेटमा बुराक इल्माझले गरेको पेनाल्टी गोलमा लिलले अग्रता लिएको थियो । 

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा क्रिस्टियन पुलसिचले चेल्सीलाई खेलमा फर्काएका थिए । ७१औं मिनेटमा एजप्लिक्वेटाले चेल्सीलाई अग्रता दिलाएका थिए । 

यता इटालियन सिरी ‘ए’ को क्लब युभेन्टसको यात्रा भने अन्तिम १६ मा सीमित भएको छ । पहिलो लेगमा भियारियाललाई १-१ को बराबरीमा रोकेको युभेन्टस बुधबार दोस्रो लेगमा भने ३-० ले पराजित भयो । 

भियारियाल समग्रमा ४-१ को जितसहित क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

७८औं मिनेटमा जेरार्ड मुनरोले गरेको गोलमा भियारियालले अग्रता लियो । त्यसको सात मिनेटपछि पाउ टोरेसले भियारियालको अग्रता दोब्बर पारेका थिए । 

इन्जुरी समयको दोस्रो मिनेटमा अमाउट डानजुमाले भियारियालका लागि तेस्रो गोल गरे । 

युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको यो लगातर तेस्रो सिजन हो ।