बार्सिलोना

जाभीले गरे पेड्रीलाई इनिएस्टासँग तुलना

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले मिडफिल्डर पेड्रीलाई क्लबका पूर्व स्टार मिडफिल्डर आन्द्रेज इनिएस्टासँग तुलना गरेका छन् ।

पियरी इमरिक औबामयाङले ला लिगाको दुई खेलमा चार गोल गरेपछि बार्सिलोनाले आइतबार एथ्लेटिक बिल्बाओलाई ४–० ले पराजित गरेको थियो । औबामयाङको गोलमा अग्रता बनाएको बार्सिलोनाबाट त्यसपछि ओस्मान डेम्बेले, लुक डी जङ र मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोनाले घरेलु मैदानमा सहज जित निश्चित गरेको थियो ।

‘पेड्रीले कसरी खेललाई बुझ्छन् भन्ने र त्यसपछि उनको प्रदर्शन हेर्दा निकै अद्भुत महसुस हुन्छ । उनको प्रदर्शनले मलाई आन्द्रेज इनिएस्टाको याद दिलाउछ । मैले उ जस्तो प्रतिभाशाली धेरै देखेको छैन,’ जाभीले भने ।

ला लिगामा २५ खेलबाट ४५ अंक जोडेको बार्सिलोना तालिकाको चौथो स्थानमा छ । जुन शीर्ष स्थानको रियाल मड्रिडभन्दा १५ अंक कम हो । लिगमा २६ खेलबाट ६० अंक जोडेको मड्रिड तालिकाको शीर्ष स्थानमा छ ।