एन्फा कार्यसमिति बैठक

जिल्लाको निर्वाचन स्थगित, वित्तीय निर्देशक निलम्बनमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को जेठ १५ गते हुने भनिएको केन्द्रिय निर्वाचनको तालिका प्रभावित हुने भएको छ ।

मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले फागुन १५ देखि ३० गतेसम्मका लागि तय गरिएको विभिन्न जिल्ला फुटबल संघहरुको निर्वाचन अनिश्चित कालका लागि स्थगित गरेको छ ।

माघ २० मा बसेको अघिल्लो कार्यसमिति बैठकले जेठ १५ मा केन्द्रको निर्वाचन गर्ने र त्यसका लागि प्रतिनिधि चयन गर्ने विभिन्न ४७ जिल्ला संघको निर्वाचन फागुन १५ देखि ३० गतेसम्ममा भइसक्नुपर्ने निर्णय गरेको थियो । एन्फा सचिवालयले त्यो समयसिमाभित्र साधारणसभामार्फत नयाँ नेतृत्व चयन गरिसक्नका लागि सबै जिल्ला संघलाई पत्राचार पनि गरिसकेको थियो ।

‘आजको मिटिङले अर्को सुचना जारी नभएसम्मका लागि जिल्लाको निर्वाचन स्थगित गरेको छ । यसबाट केन्द्रको निर्वाचन पनि तोकिएको समयमा नहुने सम्भावना बढेको छ,’ मंगलबारको बैठकमा सहभागि एक पदाधिकारीले खेलाडीसँग भने ।

एन्फा निर्वाचनका लागि निर्वाचन नियमावली टुंगो लगाउने भनेर डाकिएको बैठकले फिफाको निर्देशनअनुसार नियमावलीमा परिवर्तन गरेर निर्वाचन कार्यतालिका बनाउने पनि निर्णय गरेको छ । यसअघि निर्वाचन नियमावलीकै कारण अघिल्लो कार्यसमिति बैठकले तय गरेको विशेष साधारणसभा दुई पटकसम्म स्थगित भइसकेको छ ।

कार्यसमितिको अघिल्लो बैठकले पहिलो पटक माघ २९ गतेका लागि विशेष साधारणसभाको मिति तोकेको थियो । तर एन्फा सचिवालयले त्यसलाई स्थगित गर्दै फागुन आठमा विशेष साधारणसभा बोलाएको थियो । निर्वाचन नियमावलीमा टुंगो नलागेको भन्दै फागुन आठको साधारणसभा पनि अनिश्चित कालका लागि स्थगनमा छ ।

नियमावलीमाथि फिफा र एएफसीले केही सुझावहरु पठाएको र त्यहीअनुसार संसोधन गर्नुपर्ने भन्दै एन्फाले मंगलबारका लागि आकस्मिक बैठक बोलाएको थियो ।

‘आजको बैठकले निर्वाचन नियमावलीमा फिफाको निर्देशनअनुसार परिमार्जन गरी दुई दिनभित्र फिफामा पठाउने र त्यहाँबाट पारित भएर आएपछि अर्को साताको सुरुमै कार्यसमितिको अर्को बैठक बसेर पारित गर्ने निर्णय गरेको छ,’ ती पदाधिकारीले भने, ‘त्यही बैठकले विशेष साधारणसभाको पनि मिति तोक्नेछ ।’

यसैगरी बैठकले उपाध्यक्ष वीरबहादुर खड्काले बुझाएको प्रतिवेदनअनुसार वित्तीय निर्देशक निरञ्जन शाहलाई निलम्बन गरी थप आवस्यक कारबाहीका लागि महासचिव इन्द्रमान तुलाधरलाई निर्देशन दिएको छ ।

उपाध्यक्ष खड्कालाई पुस २२ गतेको कार्यसमिति बैठकले शाहमाथि लागेको आर्थिक हिनामिनाको आरोपमाथि छानविनको जिम्मा दिएको थियो । खड्काले माघ २० को अघिल्लो बैठकमा आफ्नो प्रतिवेदन बुझाएका थिए ।

शाहले हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको तथा लिग समितिका सदस्य गौरिमान राईले बुझाएको नगद ३५ हजार हिनामिना गरेको आरोप छ । राईले सहिद स्मारक ‘सी’ डिभिजन लिगका लागि लिएको एक लाख ३० हजार रुपैयाँमध्ये खर्च भएको ९५ हजार रुपैयाँको बिलसहित बाँकी ३५ हजार रुपैयाँ नगद बुझाएर पेस्की फर्छ्यौट गरेका थिए । तर राईले बुझाएको नगद एन्फाको खातामा दाखिला नगरी हिनामिना गरेको आरोप शाहमाथि थियो ।