आहा रारा गोल्डकप

आहा राराको उपाधि भिडन्त आज: मनाङविरुद्ध एपिएफ

काठमाडौं । मनाङ मर्स्र्याङदी क्लबका प्रशिक्षक तोपे फुजाले शनिबार आहा रारा गोल्डकपको फाइनलमा विभागीय टोली एपिएफको सामना गर्दा टोलीले यस प्रतियोगितामा राख्दै आएको साखलाई जोगाउँदै उपाधि जित्ने रहेको बताएका छन् ।

मनाङले बिहीबार पेनाल्टी सुटआउटमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४–३ ले पराजित गर्दै १२औं पटक आहा रारा गोल्डकपको फाइनलमा स्थान बनाएको थियो ।

‘मनाङ आहा रारा गोल्डकपको सधै दाबेदार टोली हो, यस पटक पनि हामीलाई दाबेदार टोलीको रुपमा हेरिएको थियो,’ तोपेले भने, ‘हामी उपाधि जित्ने लक्ष्यका साथ आएका थियौ र हामी त्यसको संघारमा छौं ।’

उनले पोखरा रंगशाला आफ्नो घरेलु मैदान भएकाले त्यहाँ उपाधि जित्दै समर्थकलाई उपहार दिन चाहेको बताए ।

‘हामीले यस पटक लिगका तीन खेल पोखरा रंगशालामा खेल्यौ, तीन वटै खेलमा हामीले सुखद नतिजा ल्यायौं,’ उनले भने, ‘हामी जारी सिजन पोखरा रंगशालामा अपराजित रहेका छौ । सोही लय कायम राख्दै उपाधि जित्न चाहन्छौं ।’

सोझै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको मनाङले नेपाल पुलिस क्लबलाई २० ले हराएको थियो ।

मनाङका कप्तान विमल रानाले भने टोलीका महत्वपूर्ण खेलाडीहरु राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले टोलीले स्वभाविक लय अनुसारको प्रदर्शन गर्न नसकेको बताए । 
‘मनाङ सँधै आहा रारा गोल्डकपको दाबेदार टोली हो । पोखरेली दर्शकले हामीलाई सधै माया दिँदै आउनु भएको छ,’ विमलले भने, ‘तर टोलीका केही खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा भएकाले हामीले स्वभाविक लयको प्रदर्शन गर्न सकेका छैनौ । तर पनि हामी उपाधि जित्नेमा विश्वस्त छौं ।’

त्यस्तै एपिएफका प्रशिक्षक कुमार थापाले प्रतियोगितामा आफूहरु उत्कृष्ट लयमा रहेकाले यस पटक आहा रारा गोल्डकपको उपाधि जित्नेमा आशावादी रहेको बताए ।

‘हामी उत्कृष्ट लयमा छौ । प्रतियोगिताको पहिलो खेलबाटै टोलीले लय समाएको छ,’ कुमारले भने, ‘लिगको विश्राममा भएको यो प्रतियोगिता हाम्रा लागि फाइदाजनक भयो । आशा छ फाइनलमा सहजै मनाङको चुनौती पन्छ्याउँदै उपाधि भित्राउने छौ ।’

जारी सिजन सहिद स्मारक ए डिभिजन लिगको सुरुआती तीन खेल गुमाएको एपिएफ त्यसपछि लिगको ६ र आहा रारा गोल्डकपको तीन गरि कुल नौ खेलमा अपराजित रहँदै आएको छ  ।

फाइनल सम्मको यात्रा तय गर्ने क्रममा एपिएफले उद्घाटन खेलमा आयोजक साहारा क्लबलाई हराको थियो भने क्वार्टरफाइनलमा अमेरिकी क्लब बिवाईएफसीलाई हराएको थियो । सेमिफाइनलमा एपिएफले लिगको शीर्ष टोली मछिन्द्र क्लबलाई सिजनको पहिलो हार चखाउदै फाइनलमा स्थान पक्का गरेको थियो ।

एपिएफ आहा रारा गोल्डकपको फाइनलमा पुगेको यो दोस्रो पटक हो । यसअघि २०६४ सालको फाइनलमा एपिएफ फाइनलमा पुलिससँग निराश भएको थियो ।