अब्दुल्लाह अल्मुताइरी

अल्मुताइरीको नेतृत्वमा थपिएको सान

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाली टोलीको छवि सधैं ‘डार्क हर्स’को रहने गर्छ । सधैं उपाधि दाबेदारको रूपमा प्रतियोगितामा सहभागिता जनाउने गरेको नेपालबाट सबैखाले नतिजा अपेक्षित मानिन्छ । अर्थात नेपालले जस्तोसुकै टिमलाई हराउन सक्छ र जोसुकैसँग हार्न पनि सक्छ ।

साफ च्याम्पियनसिपमा नेपाललाई अभागी टोली पनि मानिन्छ । सधैं दाबेदारको हैसियतमा प्रस्तुत भए पनि नेपालले सेमिफाइनलको खट्को काट्न सकेको थिएन । तर, अब त्यो इतिहास भइसकेको छ । एसियाली फुटबल महासंघ (एएफसी) को प्रो लाइसेन्सप्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृतवमा नेपालले तीन महिनाअघि पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनल खेल्यो ।

फाइनलमा भारतसँग पराजित भए पनि त्यहाँसम्म पुग्नु नै नेपाली फुटबलका लागि एउटा ठूलो उपलब्धि थियो । पाँच टिममात्र सहभागी भएकाले फाइनलको बाटो नेपाललाई विगतको तुलनामा सहज थियो । तर, इतिहास त इतिहास नै हो ।

अल्मुताइरीको नेतृत्वमा नेपालले साफ च्याम्पियनसिपसँगै विश्वकप छनोटका तीन र केही मैत्रीपूर्ण खेल पनि खेलेको छ । उनको कार्यकाल दसौं महिनामा चलिरहँदा नेपाल १३ र १४औं खेलको तयारीमा छ । शनिबार अफ्रिकी मुलुक मोरिससविरूद्ध दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल सबैखाले खेलमा गरी अल्मुताइरीको नेतृत्वमा नेपालले अर्को देशसँग खेल्न लागेको १३ औं खेल हो ।

साफ च्याम्पियनसिपमा ५ र विश्वकप छनोटमा ३ गरी अल्मुताइरीको नेतृत्वमा आठ प्रतिस्पर्धात्मक खेल खेलिसकेको नेपालले चार मैत्रीपूर्ण खेल खेलेको छ । इराकसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्दै अल्मुताइरीको कार्यकाल सुरु भएको थियो । त्यसपछि दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले कतारमा ओमानसँग एक अनौपचारिक मैत्रीपूर्ण खेल खेलेको थियो ।

समग्रमा अल्मुताइरीको नेतृत्वमा खेलेका १२ मध्ये नेपालले ३ खेलमा मात्र जित हासिल गरेको छ । विश्वकप छनोटमा चाइनिज ताइपेई तथा साफ च्याम्पियनसिपमा माल्दिभ्स र श्रीलंकामाथि नेपालले जित हासिल गरेको थियो ।

यसबीचमा नेपालले २ बराबरी तथा ७ हार नतिजा बेहोरेको छ । साफ च्याम्पियनसिपमा बंगलादेशसँग बराबरी खेलेको नेपालले भारतविरूद्धको दुई मैत्रीपूर्ण खेलमध्ये एकमा बराबरी नतिजा निकालेको हो । भारतसँग साफ च्याम्पियनसिपको फाइनल र समूह चरणमा गरी दुईपल्ट हार भोगेको नेपाल घरमै भएको मैत्रीपूर्ण शृंखलाको एक खेलमा पनि पराजित भयो । विश्वकप छनोटमा अस्ट्रेलिया र जोर्डनलाई नतिजा सुम्पिएको टोलीले इराक र ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि फराकिलो हार स्विकारेको थियो ।

अल्मुताइरीको नेतृत्वमा नेपालले खेलेका खेलहरू:

इराकविरुद्ध ६–२ नेपाल, मे २९ (मैत्रीपूर्ण) (एक आत्मघाती, मनीष डाँगी)

नेपाल विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो लेग खेल्ने तयारीमा थियो । कोभिड–१९ महामारीले अघिल्लो वर्ष नै भइसक्नुपर्ने खेल हुन सकिरहेको थिएन । यस्तैमा कुवेती प्रशिक्षक अल्मुताइरीले गत वर्ष चैत २२ गते नेपाली राष्ट्रिय टोलीको बागडोर सम्हाले ।

उनको नेतृत्वमा नेपालले खेलेको पहिलो खेल थियो इराकविरुद्धको मैत्रीपूर्ण खेल । इराकको बगदादमा भएको खेलमा नेपालले ६–२ को पराजय भोगे पनि सुरुआती ३० मिनेटमै दुई गोल गरेर समर्थकको मन जितेको थियो । विपक्षी खेलाडीको एक आत्मघाती गोलमा मनीष डाँगीको गोल थपिँदा नेपाल ३० मिनेटभित्र २–० को अग्रता लिन सफल भएको थियो ।

एएफसीको प्रो लाइसेन्सप्राप्त प्रशिक्षकबाट नेपाली फुटबलले ठूलो आस राखेको थियो । जुन एसियाली महारथीविरुद्धको त्यो मैत्रीपूर्ण खेलको नतिजापछि झनै बढ्यो । भलै इराकले उक्त खेलमा आफ्नो पहिलो रोजाइका कुनै पनि खेलाडीलाई मैदान उतारेको थिएन ।

चाइनिज ताइपेई ०–२ नेपाल, जुन ३ (विश्वकप छनोट) (अञ्जन विष्ट, नवयुग श्रेष्ठ)

कुवेती प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपालले गत वैशाखमा विश्वकप छनोटका तीन प्रतिस्पर्धात्मक खेल खेल्यो ।

कोभिड–१९ महामारीका कारण होम एन्ड अवे पद्दतिमा हुनुपर्ने भए पनि नेपालका घरेलु खेलहरू एसियाली फुटबल महासंघ (एएफसी) ले तटस्थ मैदानको रूपमा कुवेतमा खेलाएको थियो । जहाँ जेठ २० गते चाइनिज ताइपेईविरुद्ध खेल्दै नेपाली टोलीमा अल्मुताइरीको प्रतिस्पर्धात्मक यात्रा सुरु भयो ।

इराकविरुद्धको प्रदर्शनबाट उत्साही नेपाली टोलीले चाइनिज ताइपेईमाथिको प्रभावलाई निरन्तरता दियो । अघिल्लो लेगमा २–० को जित पाएको नेपालले कुवेतमा भएको दोस्रो लेगमा पनि चाइनिज ताइपेईलाई त्यही नतिजामा पराजित ग¥यो । नेपालको जितमा स्टार फरवार्डद्वय अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

जोर्डन ३–० नेपाल, जुन ७ (विश्वकप छनोट)

अल्मुताइरीको नेतृत्वमा नेपाली फुटबलको उत्साह धेरै दिन टिक्न सकेन । इराकविरूद्ध सुरुमा दुई गोल गरेको उर्जा र चाइनिज ताइपेईमाथि जित यात्रालाई निरन्तरता दिँदाको जोस जोर्डनविरुद्धको खेलमा आइपुग्दा स्खलित भयो ।

चाइनिज ताइपेईमाथि जित पाएको चार दिनपछि कुवेतको उही मैदानमा भएको खेलमा जोर्डनविरुद्ध नेपालको नतिजाले भने निरन्तरता पायो । जोर्डनसँग पहिलो लेगमा ३–० को हार भोगेको नेपाल दोस्रो लेगमा पनि त्यही अन्तरमा पराजित भयो ।

जोर्डनविरुद्धको खेलमा आक्रमणका केही अवसर बुने पनि नेपालले अधिकांश समय दबेर खेल्नुपरेको थियो । अधिकांश समय रक्षापंक्तिमा सबैजसो खेलाडी रुमल्लिए पनि काउन्टर अट्याकमा मौका पाउँदा नेपाली टोलीले तीव्र गति र उच्च तालमेल देखाएर समर्थकको मन भने जित्यो ।

आक्रमणमा यदाकदा पाएको अवसरमा पूरा टोली सलहको शैलीमा अगाडि बढ्दा नेपालको खेल्ने शैलीमै परिवर्तन भएको भनेर अल्मुताइरीको निकै प्रशंसा भयो ।

अस्ट्रेलिया ३–० नेपाल, जुन ११ (विश्वकप छनोट)

नतिजाको हिसाबमा अस्ट्रेलियाविरुद्ध दोस्रो लेगमा नेपालको राम्रो रह्यो । अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको पहिलो लेगमा ५–० को अन्तरमा पराजित नेपालले कुवेतमा भएको दोस्रो लेगमा पराजय अन्तर घटायो ।

कुवेतमा वैशाखमा सम्पन्न खेलमा नेपाल १० जनामा सीमित भएर आधाभन्दा बढी समय खेल्नुका बावजुद अस्ट्रेलियालाई ३–० को नतिजामा रोक्न सफल भयो । नेपाली टोलीका सबैभन्दा भरपर्दा स्टार रोहित चन्दले पहिलो हाफको अन्तिम मिनेटमा रातो कार्ड सामना गरेपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । तथापि पूरा समय खेल भने नेपालको पेनाल्टी बक्स वरिपरिमात्र भएको थियो ।

विश्वकपको तेस्रो चरणका लागि शीर्ष टोलीका रूपमा छानिइसकेको अस्ट्रेलियाका लागि नतिजाका हिसाबले त्यो खेलको खास महत्व थिएन । त्यसैले पहिलो ११ मा सबै नयाँ खेलाडीलाई मौका दिनाका बाबजुत अस्ट्रेलियाले पूरा समय खेल आफ्नो नियन्त्रणमा राखेको थियो ।

भारत १–१ नेपाल, सेप्टेम्बर २ (मैत्रीपूर्ण) (अञ्जन विष्ट)

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले दक्षिण एसियाको सबैभन्दा सफल टोली भारतलाई दुई मैत्रीपूर्ण खेलको शृंखला खेल्न काठमाडौं निम्त्याएको थियो । दशरथ रंगशालामा भदौ १७ गते भएको पहिलो खेलमा १–१ को बराबरी नतिजा निस्कियो ।

अञ्जन विष्टले ३६औं मिनेटमा गरेको गोलमा अग्रता लिए पनि नेपालले त्यसलाई जोगाउन सकेन । भारतका लागि अनिरुद्ध थापाले ६०औं मिनेटमा बराबरी गोल गरेका थिए ।

नतिजा बराबरी निस्किए पनि घरेलु दर्शकप्रेरित नेपालले खेलमा एकतर्फी प्रभाव जमाएको थियो । नेपालले उक्त खेलमा गोलका थुप्रै अवसर पाए पनि फरवार्डहरू चुक्दा घरेलु मैदानमा बलियो छिमेकीमाथि दुर्लभ जित हासिल गर्ने मौका चुकायो ।

भारत २–१ नेपाल, सेप्टेम्बर ५ (मैत्रीपूर्ण, तेज तामाङ)

त्यसो त छिमेकी मुलुक भए पनि भारत र नेपालबीचको मैत्रीपूर्ण खेलको संख्या हातका औंलामा गन्न सकिने जत्ति पनि छैनन् । पहिलो खेलमा अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको नेपालले दोस्रो खेलमा भने सोही प्रदर्शन दोहोर्याउन सकेन । पहिलो हाफमा पाहुना टोलीलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा नेपालले दुई गोल खायो । फारुख चौधरीले ६२औं मिनेटमा गरेको गोलबाट अग्रता बनाएको भारतले ८०औं मिनेटमा कप्तान सुनील क्षेत्रीको गोलबाट अग्रता दोब्बर पार्यो । खेल सकिन तीन मिनेट बाँकी रहँदा तेज तामाङले गोल गर्दै नेपाललाई खेलमा फर्काउने आस देखाए पनि भारतले दोस्रो गोलको मौका बनाउन दिएन । अन्तिम समयमा बारम्बार भारतीय ‘फस्ट जोन’ मा गोलको मौका खोजे पनि जब्बर भारतीय रक्षापंतिm तोड्न नसक्दा नेपालले २–१ को हार आत्मसाथ गर्यो ।

ओमान ७–२ नेपाल, सेप्टेम्बर २६ (मैत्रीपूर्ण, अनन्त तामाङ र आयुश घलान)

साफ च्याम्पियनको तयारीका लागि कतारमा बन्द प्रशिक्षण गरेको नेपालले ओमानसँग ‘फिफा क्यालेन्डर’अन्तर्गत रहेर खेलेको भने होइन । ओमानले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा ५ गोल थप्यो । नवौं मिनेटमा फेमी सइदले गरेको गोलबाट अग्रता बनाएको ओमानका मोहसने गोहराले ३०औं मिनेटमा दोस्रो, इसम अल सुभीले ४६औं मिनेटमा तेस्रो र मोहमद अल घसानीले ४९औं मिनेटमा चौथो गोल गरे । त्यस्तै अब्दुल्लाहजित अलमुक्बालीले ६० र ६५औं मिनेटमा दुई गोल गर्दा अमिल अल यहमादीले ७६औं मिनेटमा सातौं गोल गरे ।

यो खेलमा नेपालका अनन्त तामाङ र आयुश घलानले एक–एक गोल गरेका थिए ।

साफ च्याम्पियनसिप

माल्दिभ्स ०–१ नेपाल, अक्टोबर १ (मनीष डाँगी)

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरूद्ध मैदान उत्रिएको नेपालले घरेलु टोलीमाथि ऐतिहासिक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्यो । नेपालले त्यसअघि दक्षिण एसियाको विश्वकप ‘साफ च्याम्पियनसिप’मा माल्दिभ्सलाई हराउन सकेको थिएन । नतिजा आफ्नो पक्षमा पारे पनि नेपालले घरेलु टोलीको चर्को दबाब बेहोरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको ८६औं मिनेटमा मनीष डाँगीले निर्णायक गोल गरेपछि नेपालले ऐतिहासिक जित निश्चित गर्यो । मनीषले मैदानको मध्यभागबाट बल अघि बढाउँदै माल्दिभ्सका तीन डिफेन्डरसहित गोलकिपरसमेत बिट गर्दै उत्कृष्ट ‘सोलो’ गोल गरेका थिए । यो मनीषको दोस्रो अन्तर्राष्ट्रिय गोल थियो ।

श्रीलंका २–३ नेपाल, अक्टोबर ४ (सुमन लामा, अञ्जन विष्ट, आयुश घलान)

पहिलो खेलमा आयोजकलाई पराजित गर्दै उच्च मनोबलसहित नेपाल दोस्रो खेलमा श्रीलंकाविरूद्ध मैदान उत्रिएको नेपालले ३–२ को जित निकाल्यो । सुमन लामाले ३३औं मिनेटमा गरेको गोलबाट अग्रता बनाएको नेपाल पहिलो हाफमा १–० ले अघि रह्यो । दोस्रो हाफमा दुई गोल थपेको नेपालबाट अञ्जन विष्टले ५१औं मिनेटमा अग्रता दोब्बर पारे । यद्यपि, पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको श्रीलंकाका मार्भिन हेमिल्टनले ५७औं मिनेटमा गोल गर्दै अग्रता २–१ मा झारे । तर, दोस्रो हाफमा बेन्चबाट आएका युवा खेलाडी आयुश घलानले ८६औं मिनेटमा गोल थप्दै अग्रता अझ फराकिलो बनाए । खेलको इन्जुरी समयमा डिलोन डी सिल्भाले पेनाल्टीमा गोल गरेर श्रीलंकालाई खेलमा फर्काउने प्रयास गरे पनि सकेनन् । नेपालले साफमा श्रीलंकालाई २२ वर्षपछि हराएको हो ।

भारत १–० नेपाल, अक्टोबर १०

च्याम्पियनसिपको तेस्रो खेलमा नेपाल प्रतियोगिताकै बलियो प्रतिद्वन्द्वी भारतसँग १–० ले पराजित भयो । त्यसो त भारतविरुद्ध सधैं बलियो चुनौती प्रस्तुत गरे पनि नेपालले नतिजा भने बिरलै आफ्नो पक्षमा पारेको छ । नेपाल र भारतबीचको खेल भारतका लागि सामान्य भए पनि नेपाली खेलाडी र समर्थकमाझ भने यसको बेग्लै महत्व रहेको छ । तर, समूह चरणका लगातार दुई खेलमा बराबरी खेलेर दबाबमा रहेको भारतले फाइनल सम्भावना जीवित राख्न नेपाललाई जित्नैपर्ने दबाबमा थियो । प्रशिक्षक अल्मुताइरीले भारतलाई बराबरीमा रोक्ने रणनीतिसहित टोलीलाई पूर्ण डिफेन्सिभ बनाउँदा पहिलो हाफमा सफल भए पनि दोस्रो हाफमा असफल भए । निर्धारित समय सकिन ८ मिनेट बाँकी रहँदा भारतीय कप्तान सुनील क्षेत्रीले निर्णायक गोल गरेपछि नेपाल फेरि एकपटक भारतसँग निराश बन्यो ।

बंगलादेश १–१ नेपाल, अक्टोबर १३ (अञ्जन विष्ट)

तेस्रो खेलमा भारतसँगको पराजयपछि एक खेलअगावै फाइनल पुग्ने मौका गुमाएको नेपालले बंगलादेशविरुद्ध बराबरी खेले पनि फाइनल पुग्ने समीकरण बनेको थियो । तर, हारको नतिजाले प्रतियोगितामा नेपालको यात्रा फेरि समूह चरणमै सीमित बन्ने निश्चित थियो । सुरुआती नवौं मिनेटमा सुमोन रेजाले गोल गरेपछि चर्को दबाबमा परेको नेपाललाई फाइनल पुग्न गोल फर्काउनुको विकल्प थिएन ।

तर, खेलको अन्तिम १५ मिनेट निकै नाटकीय बन्यो । ७९औं मिनेटमा नवयुग श्रेष्ठले एक्लै अघि बढाएको बलमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले बक्सबाहिर हातले बल रोकपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिए । त्यसको नौ मिनेटपछि बंगलादेशी डिफेन्डरले नेपालका अञ्जन विष्टलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि नेपालले गोल फर्काउने मौका पाएको थियो । त्यो पेनाल्टी प्रहारमा अञ्जनले कुनै गल्ती गरेनन् । नेपाललाई १–१ बराबरी नतिजा फाइनल पुग्न पर्याप्त थियो ।

भारत ३–० नेपाल, अक्टोबर १६ (फाइनल) 

सन् १९९३ मा सार्क गोल्डकपको नामबाट सुरु भएको प्रतियोतिगामा नेपालले पहिलोपल्ट फाइलनमा स्थान बनायो । फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध मैदान उत्रिएको नेपालका प्रशिक्षक अल्मुताइरी दुई पहेँलो कार्डका कारण मैदानबाहिर थिए । मुख्य प्रशिक्षकविनै मैदान उत्रिएको नेपाली टोली ३–० ले पराजित भयो । पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भारतले तीन गोल गर्यो ।

कप्तान सुनील क्षेत्रीले ४९औं मिनेटमा गरेको गोलबाट भारतले अग्रता बनायो । लगत्तै अर्को मिनेटमा सुरेशसिंह वांगजमले भारतको अग्रता दोब्बर बनाए । र, इन्जुरी समयमा सहल अब्दुल समदले गोल गरेपछि भारतको ३–० को जित निश्चित भयो । यद्यपि, च्याम्पियनसिपको २९ वर्षे यात्रामा पहिलोपल्ट फाइनलसम्म पुगेका कारण नेपाली फुटबलका लागि यो ऐतिहासिक क्षण थियो ।