साफ यु १९ महिला च्याम्पियनसिप

नेपाल पराजित

काठमाडौं । यु १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आइतबार भारतसँग १-० ले पराजित भएपछि नेपाली टोलीको फाइनल प्रवेश सम्भावना न्युन बनेकाे छ ।

बंगलादेशको ढाकास्थित बिएसएसएस मुस्तफा कमल फुटबल रंगशालामा समूहको अन्तिम खेलमा पराजित भएकाे  नेपालले अब फाइनल प्रवेशको लागि बंगलादेश र श्रीलंकाबिचको खेलमा भर पर्नुपर्ने भएको हाे । 

श्रीलंकाले बंगलादेशमाथी जित हात पारेमा नेपाल गोलअन्तरको आधारमा फाइनमा पुग्नेछ । तर अहिलेसम्म तीन खेलमा अंकविहिन श्रीलंकाको जित्ने सम्भावना न्यून छ । बंगलादेश र श्रीलंकाको खेल साँझ ६:४५ मा हुनेछ ।

भारतको जितमा प्रियंका देवीले निर्णायक गोल गरिन । उनले ६६औँ मिनेटमा गरेको गोल नै भारतको लागि पर्याप्त भयो । जितसँगै भारतले फाइनल पुगिसकेको छ । 

नेपालले आज भारतसँग अंक बाँडेमात्र पनि फाइनलमा स्थान पक्का गर्ने थियो । पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको नेपाली टोलीले दोस्रो खेलमा श्रीलंकालाई ६-० र तेस्रो खेलमा भुटानलाई ४-० ले हराउँदै च्याम्पियनसिपको फाइनल प्रवेश सम्भावना बलियो पारेको थियो । 

पाँच टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।