इटालियन सिरी ए

नेपोलीले अंक बाँड्दा मिलानको सहज जित

मिलान । नेपोली बराबरीमा रोकिएको दिन बुधबार जिनोवामाथि सहज जितसहित एसी मिलानले इटालियन सिरी ए  को शीर्ष टोलीसँगको दुरी एक अंकमा झारेको छ ।

शीर्ष स्थानको नेपोली सासौलोसँग २-२ को बराबरीमा रोकिएपछि  मिलानमाथि तीन अंकको अग्रता बनाउने अवसरबाट चुकेको थियो ।

नेपोली १४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा कायमै छ,जुन दोस्रो स्थानको मिलान भन्दा एक अंक मात्र बढी हो । इन्टर मिलान ३४ अंकसहित तेस्रो स्थानमा छ ।

नेपोलीमाथि दबाब बढाउने क्रममा मिलानले जिनोवालाई ३-० ले हराएको हो । गत साता भने मिलान फियारेन्टिना र सासौलोसँग पराजित भएको थियो ।

१०औं मिनेटमा ज्लाटान इब्राहिमोभिचले गरेको गोलमा मिलानले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा जुनियर मेसियासले मिलानको अग्रता दोब्बर पारेका थिए । ६१औं मिनेटमा मेसियासको दोस्रो गोलमा मिलानले ३-० को अग्रता लिएको थियो ।