झापा गोल्डकप

चर्च ब्वाइज झापा गोल्डकपको नयाँ च्याम्पियन

बिर्तामोड ।  विभागीय टोली एपिएफ एफसीलाई ३-० ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको नयाँ च्याम्पियन बनेको छ ।

बिर्तामोडस्थित डोमलाला रंगशालमा सोमबार सम्पन्न छैटौं संस्करणको फाइनलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजलाई जित दिलाउन अबायोमी ओलुवासेउन फकुन्ले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै  अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो ।

विजेता चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एपिएफले ७ लाख रुपैयाँ पायो ।

खेलको १२औं मिनेटमा फकुन्लेले पहिलो गोल  गरे । विपक्षी गोलकिपर एन्जल श्रेष्ठ अगाडी बढको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भए ।  ७२औं फकुन्लेले नै टोलीको अग्रता दोब्बर बनाए ।  मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकपिर एन्जललाई बिट गरेर सुन्दर गोल गरे ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा वैकल्पिक खेलाडी राजेश परियारले गोल गर्दै चर्च ब्वाइजलाई ३-० को सहज जित दिलाए ।  विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासलाई पाेस्टकाे दिशा दिए । 

खेलमा एपिएफले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । १८औं मिनेटमा एपिएफका फोडे फोफानाको पासमा अनिस महर्जन गोल गर्न चुके । पहिलो हाफको इन्जुरी समयमा फोडेकै प्रहार चर्च ब्वाइजका कप्तान तथा  गाेलकिपर दीप कार्कीले पञ्च गरे ।

एपिएफले ८१औं मिनेटमा सुन्दर अवसर गुमायो । विदेशी खेलाडी आन्द्रे थेरी वियिक वियिकको फ्रिकिक गोलकिपर दीपले पञ्च गर्दै क्लिन सिट राख्न सफल भए ।

चर्च ब्वाइजले पनि केही अवसरलाई सदुपयोग सकेन । ३१औं मिनेटमा विकु राईको प्रहार एपिएफ गोलकिपर एञ्जल श्रेष्ठले बचाए । ७२औं मिनेटमा विजय भुजेल गोलकिपर एञ्जल बिट भएको अवस्थामा पनि गोल गर्न चुकेका थिए ।