वाफ वुमन्स च्याम्पियनसिप

सावित्रा चम्किँदा इराकमाथि नेपालको फराकिलो जित

इराकसँग प्रतिस्पर्धा गर्दै दीपा शाही (रातो)

काठमाडौं । सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिपमा इराकमाथि ५-० को फराकिलो जित निकालेको छ ।

साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीबार सम्पन्न खेलमा नेपालका लागि पाँचौं गोल सावित्राले गरिन् ।

लगातार दोस्रो जितसँगै ६ अंकका साथसमूह बीको शीर्ष स्थानमा उक्लिएको नेपालले सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । पहिलो खेलमा नेपालले सिरियालाई ४-१ ले पराजित गरेको थियो ।

दुवै खेलमा पराजित इराकको भने सेमिफाइनल सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा इराक पहिलो खेलमा प्यालेस्टाइनसँग ३-० ले निरास बनेको थियो ।

खेलको १४औं मिनेटमा सावित्राको गोलमार्फत नेपालले अग्रता लिएको थियो । रेखा पौडेलले उपलब्ध गराएको थ्रु पासलाई नियन्त्रणमा सावित्राले उत्कृष्ट गोल गरिन् ।

सावित्रा भण्डारी

दुई मिनेटपछि नै सावित्राले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । सावित्राले  पेनाल्टी बक्स भित्र नै इराकी रक्षक दिरिन मुल्लाबाकरबाट बल खोसेर पोस्टको दिशा दिइन् ।

३७औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरिन् । पूजा रानाले गरेको क्रसमा सहजै हेडरमार्फत गोल गरिन् ।

४४औं मिनेटमा सावित्राले ब्यक्तिगत तथा टोलीका लागि चौथो गोल गरिन् । रेखाको पासमा गरेको पहिलो प्रहार इराकी गोलकिपर जारा अल सादेइले बचाएपनि दोस्रो प्रयासमा उनी बललाई जाली चुमाउन सफल भइन् ।

७९औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै फरवार्ड चन्द्रा भण्डारीले नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यू गरिन् । 

८०औं मिनेटमा प्रीति राईको पासलमा सावित्राले ब्यक्तिगत पाँचौं गोल गर्दा नेपालले ५-० को फराकिलो जित निकाल्यो । यससँगै सावित्राको ५० अन्तर्राष्ट्रिय गोल पूरा भएको छ । 

यसैगरी ८३औं मिनेटमा  हीराकुमारी भुजेलको स्थानमा मैदान  प्रवेश गर्दै  रक्षक सविना चाैधरीले पनि नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यू गरिन् । 

अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार प्यालेस्टाइनको सामना गर्नेछ । इराकले सोही दिन सिरियासँग खेल्नेछ ।