मिकेल अर्टेटा

मनोवैज्ञानिक रूपमा तयार हुनुपर्छः अर्टेटा

काठमाडौं । इङ्लिस क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले आफूहरु मनोवैज्ञानिक रूपमा तयार हुन तयआवश्यक रहेको स्विकारेका छन् । एफए कपको तेस्रो चरणबाटै बाहिरिएपछि अर्टेटाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आइतबार घरेलु मैदानमा आर्सनलले चिरपरिचित प्रतिद्धन्द्धी लिभरपुलविरुद्ध २-० को हार ब्यहोरेसँगै एफए कपमा आर्सनलको यात्रा तेस्रो चरणमै सिमित भएको हो ।

पहिलो हाफमा एकपछि अर्को आक्रमण बुनेको आर्सनलले गोलका अनेकौं अवसरहरु खेर फालेको थियो । निर्धारित समय सकिन १० मिनेट बाँकी छँदा याकुव किविवरले आत्मघाती गोल गरेपछि आर्सनल खेलमापछि परेको थियो । इन्जुरी समयमा लुइज डियाजले लिभरपुलका लागि दोस्रो गोल गरे ।

अर्टेटाको टोली आर्सनलले सबै प्रतियोगितामा पछिल्ला सात खेलमध्ये एकमा मात्र जित हासिल गरेको छ । आइतबारको हारपछि अर्टेटाले टोलीको लयलाई मनोविज्ञानसँग तुलना गरे ।

‘मनोवैज्ञानिक रुपमै हामी कमजोर भइसक्यौं । त्यसैले हामीले सकारात्मक नतिजा ल्याउन सकिरहेका छैनौं । त्यसैले मलाई लाग्छ, सुरुआत देखि नै क्लबभित्र भएका कमि कमजोरीलाई निवारण गर्न आवश्यक छ । अहिले प्रिमियर लिग बिदामा छ ।  टोलीलाई पूनर्जिवित गर्ने यो नै उत्तम समय हो,’ अर्टेटाले भने ।

आर्सनल हाल ४० अंकसहित प्रिमियर लिगको चौंथो स्थानमा छ । तीन हप्ताअघि मात्र आर्सनल तालिकाको पहिलो स्थानमा थियो । शीर्ष स्थानको लिभरपुलले समान खेलबाट ४५ अंक जोडेको छ ।