जर्मन बुन्डेसलिगा

बर्लिनमाथि डर्टमन्डको सहज जित

काठमाडौं । बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा शनिबार युनियन बर्लिनविरुद्ध ४-२ को जित निकालेको छ ।

जितसँगै ७ खेलमा १७ अंक जोडेको डर्टमन्ड दोस्रो स्थानमा छ । पराजय व्यहोरेको बर्लिन समान खेलबाट ६ अंकका साथ १३ औं स्थानमा छ ।

घरेलु मैदान सिंगल इडुना पार्कमा डर्टमन्डलाई जित दिलाउन निकोलस फुलक्रग, निको स्लोटरबेक, जुलियन ब्रान्डट्, जुलियन रेयरसनले गोल गरे । बर्लिनका लागि रोबिन गोसेन्स र लियोनार्दो बोनुचीले गोल फर्काए ।

खेलको सातौं मिनेटमा फुलक्रगको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो । तर डर्टमन्डको अग्रता लामो समयसम्म टिक्न भने सकेन २ मिनेटपछि नै गोसेन्सले बर्लिनलाई बराबरीमा ल्याए ।

३१ औं मिनेटमा बोनुचीले पेनाल्टीमार्फत गोल गर्दै बर्लिनलाई २-१ ले अगाडि बढाए । ४९ औं मिनेटमा स्लोटरबेकले गोल गर्दा डर्टमन्ड २-२ को बराबरीमा आयो ।

५ मिनेटपछि नै ब्रान्डट्ले डर्टमन्डका लागि तेस्रो गोल गरे । ७१ औं मिनेटमा रेयरसनले गोल गर्दै टोलीलाई ४-२ को जित दिलाए ।