फिफा महिला विश्वकप

फिफा महिला विश्वकपः इङ्ल्यान्ड पहिलो पटक फाइनलमा

काठमाडौं । आयोजक अस्ट्रेलियाविरुद्ध ३-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

सिड्नीस्थित अस्ट्रेलिया रंगशाला(एलियन्ज)मा इङ्ल्यान्डलाई जित दिलाउन इला टुन, लोरेन हेम्प र एलिसा रुसोले समान एक गोल गरे । अस्ट्रेलियाका लागि साम केरले एक गोल फर्काइन् ।

खेलको ३६औं मिनेटमा टुनको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । ६३औं मिनेटमा केरले अस्ट्रेलियालाई बराबरीमा ल्याइन् ।

७१औं मिनेटमा हेम्पले गोल गर्दा इङ्ल्यान्ड २-१ ले अघि बढ्यो । खेल सकिन चार मिनेट बाँकी छँदा रुसोले गोल गर्दै इङ्ल्यान्डलाई ३-१ को जित दिलाइन् ।

इङ्ल्यान्डले कोलम्बियालाई २-१  र अस्ट्रेलियाले सडन डेथमा फ्रान्सलाई ७-६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

इङ्ल्यान्डले उपाधिका लागि स्पेनको सामना गर्नेछ । स्पेनले स्विडेनलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।