नेपाल बंगलादेश मैत्रीपूर्ण खेल

बंगलादेशविरुद्ध नेपालको सम्भावित पहिलाे राेजाइ

काठमाडौं । नेपालले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार घरेलु टोली बंगलादेशको सामना गर्दैछ । खेल ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल  रंगशालामा साँझ ५ः१५ मा सुरु हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक अनन्तराज थापाले बंगलदेश बलियो टोली भए पनि सुखद नतिजा ल्याउने बताए ।

‘टोलीका केही प्रमुख खेलाडीले पुनरागन गर्दैछन्, त्यसले पनि टोलीको मनोबल बढेको छ,’ थापाले भने, ‘त्यसैले बंगलादेशविरुद्ध सुखद नतिजा ल्याउनेमा आशाबादी छु । हामी पछिल्लो समयम निरन्तर अन्तर्राष्ट्रिय खेल खेलिरहेका छौ । अब त्यो अनुभव नतिजामा परिवर्तन गर्ने समय आएको छ ।’

१९औ एसियन गेम्सको तयारीमा रहेको नेपाली टोलीले दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको भ्रमण गरेको हो ।

प्रशिक्षक थापाले आज ओलम्पिक छनोट अन्तर्गत पहिलो चरणमा भियतनामविरुद्ध खेलकै सेटलाई बंगलादेशविरुद्ध पनि उतार्ने सम्भावना छ । तर, प्रीति राई, गिता राना र अञ्जली वाइबाले पुनरागमन गरेका टोलीमा केही परिवर्तन पनि हुन सक्छ ।

नेपालको गोल पोष्ट कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको जिम्मामा हुनेछ ।

चोटबाट मुक्त हुँदै राष्ट्रिय टोलीमा पुनरागमन गरेकी गिता रानाले अस्वस्थता कारण खेल गुमाउन सक्ने भएकाले रक्षापंक्तिमा अमृता जैसी, हीराकुमारी भुजेल, समिक्षा घिमिरे र विमला बिक देखिने सम्भावना छ । तर, प्रशिक्षक थापासँग पुजा रानालाई मैदान उतार्ने विकल्प पनि रहनेछ ।

मध्यभागमा रेनुका नगरकोटे, दीपा शाही र सरु लिम्बुको स्थान लगभग पक्का छ । प्रशिक्षक थापाले चोटबाट मुक्त हुँदै टोलीमा पुनरागमन गरेकी प्रिति राईलाई मैदान उतार्न सक्छन् । थापाले प्रितिमाथि रिक्स लिन नचाहेको खण्डमा विमला चौधरी वा अनिता बस्नेत विकल्पका रूपमा रहने छन् ।

अग्रपंक्तिमा मुख्य हतियारको भूमिका सावित्रा भण्डाले निर्वाह गर्नेछिन् । सावित्रालाई अमिषा कार्कीले साथ दिने सम्भावना बलियो छ । तर थापाले अमिषाको स्थानमा रश्मीकुमारी घिसिङ वा रेखा पौडेललाई पहिलो रोजाइमा मौका दिने सम्भावना पनि छ ।

नेपालको सम्भावित पहिलो रोजाइ

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा

रक्षकः अमृता जैसी, हीराकुमारी भुजेल, समिक्षा घिमिरे, विमला बिक / पुजा राना

मिडफिल्डरः रेनुका नगरकोटे, सरु  लिम्बु, दीपा शाही, प्रीति राई / विमला चौधरी/ अनिता बस्नेत

फरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की / रश्मिकुमारी  घिसिङ/ रेखा पौडेल