च्याम्पियन्स लिग

रियालमाथि सहज जितसहित सिटी फाइनलमा

लन्डन । बर्नाडो सिल्भाको दुई गोलप्रेरित म्यानचेस्टर सिटी बुधबार साबिकको विजेता रियाल मड्रिडमाथि सेमिफाइनल दोस्रो लेगमा ४-० को सहज जितसहित च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै जुलियन अल्भारेजले एक गोल गरे भने रियालका इडर मिलिटाओले आत्मघाती गोल गरेका थिए । घरेलु मैदान इत्तिहाद रंगशालामा सम्पन्न खेलमा निकालेको सहज जितसँगै सिटी समग्रमा ५-१ को नतिजासहित फाइनल प्रवेश गरेको हो । पहिलो लेगमा यी दुई टोलीले १-१ को बराबरी खेलेका थिए । 

जुन १० मा हुने फाइनलमा सिटीले इन्टर मिलानको सामना गर्नेछ । इन्टरले मंगलबार एसी मिलानमाथि समग्रमा ३-० को जितसहित फाइनल प्रवेश गरेको थियो । 

गत सिजन सिटीको यात्रा रियालसँग स्तब्ध हुँदै सेमिफाइनलमा सीमित भएको थियो । सन् २०२१ को फाइनलमा भने सिटी इङ्लिस प्रिमियर लिगकै क्लब चेल्सीसँग निराश भएको थियो ।