सहिद स्मारक ‘ए’ डिभिजन लिग

अझै लिग उपाधि जित्नेमा मछिन्द्रका प्रशिक्षक कटुवाल आशावादी

फाइल तस्बिर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा लगातार दोस्रो हारको सामना गरे पनि साबिक विजेता मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले अझै पनि टोली उपाधि होडबाट नबाहिरिएको बताएका छन् ।

 लिग अन्तर्गत बिहिबार सम्पन्न खेलमा मछिन्द्र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग २-० ले पराजित भएको थियो।

‘२-० हार राम्रो नजिाता होइन । केही खेलाडीको चोट र केही खेलाडीको कागजी प्रक्रिया नमिलाका कारण दोस्रो रोजाईका खेलाडी खेलाउनु परिरहेको छ । त्यसमाथि आर्मी शारिरिक रूपमा बलियो टोली हो । त्यसैले जुनियर भाइहरुले खेल्न सकेनन् ।  ग्राउण्ड पनि अलिकति सानो भएकाले दबाब थेग्न सकिएन,’ कटुवालले भने । 

प्रशिक्षक कटुवालले धेरै खेल बाँकी रहेको कारण उपाधि जित्नेमा आशावादी रहेको बताए ।

‘हामी सँग अझै २४ खेल बाँकी छन्।  त्यसैले हामीलाई अझै पनि आशा छ । उपाधि जित्नका लागि टोली बनाएका थियौं । लगातारको ब्यस्थताका कारण केही खेलाडी घाइते भए । टोलीमा रहेका खेलाडीले पनि क्षमता अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन् ,’ कटुवालले भने ,‘लगातार दोस्रो हारले केही गाह्रो बनाएको छ । तर असम्भव भने छैन, हामी उपाधिकै लागि प्रतिस्पर्धा गर्नेछौं ।’

यसैगरी विजयी टोली आर्मीका कप्तान नवयुग श्रेष्ठले साविक विजेता मछिन्द्रमाथिको जितले खुसी दिनुका साथै टोलीको हौसला बढाएको बताए । 

‘पहिलो खेल बराबरीमा सकिएको थियो । आजको खेल एकदमै भाइटल थियो । भाइटल खेलमा तीन अंक हासिल गर्न सफल भयौं । एकदमै खुसी लागेको छ । यो जितले आगामी खेलका लागि हाम्रो हौसला बढाउनेछ’, नवयुगले भने । 

पहिलो खेलमा आर्मीले संकटा क्लबसँग गोलरहित बराबरी खेल्दा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भएको थियो  ।