प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता

लुम्बिनीको सम्भावना जिवित

काठमाडौं । प्रदेश एकलाई ४० रनले पराजित गर्दै लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलन सम्भावना जिवित राखेको छ । 
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह ‘बी’ को चौथो खेलसँगै लुम्बिनी सेमिफाइनल प्रवेशका लागि अन्य टोलीको नतिजामा भर पर्ने पक्का भएको हो ।  

लुम्बिनीको समूह ‘बी’ मा चार खेलबाट चार अंक रहेको छ र तेस्रो स्थानमा छ ।  दुई खेल कम खेल मधेस प्रदेश चार अंक सहित दोस्रो स्थानमा छ । यस समूहबाट अन्तिम चारमा मधेसको बलियो सम्भावना रहेको छ ।

उसले बाँकी खेल जिते सिधै सेमिफाइनलमा पुग्नेछ । चार खेलबाट दुई अंक जोडेको प्रदेश एक र बिना अंक तालिकाको पुछारमा रहेको बागमती प्रदेश भने समूह चरणबाट बाहिरिसकेका छन् । तीनखेलबाट सत प्रतिशत जित सहित नेपाल पुलिस क्लब एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

लुम्बिनी प्रदेशले दिएको दुई समय ९१ रनको लक्ष्य पछ्याएको प्रदेश एक ४६ ओभरमा सबै विकेट गुमाउँदा दुई सय ५१ रनमा समेटियो । प्रदेश एक २४ बल बाँकी रहँदै अल आउट भएको थियो ।

प्रदेश एकका दुई खेलाडीले अर्धसतकीय इनिङ खेलपनि टोलीको हार टार्न सकेनन् । कप्तान सिद्धान्त लोहनीले ६० बलमा १० चौका र दुई छक्का मद्धतमा सर्वाधिक ७४ रन बनाए । ओपनर अंकित सुवेदीले रन आउट हुनु अघि ४८ बलमा दश चौका सहित ५२ रनको योगदान गरे ।

यसैगरी निरज मुखियाले ३७ बलमा ४६ रन जोडे । सोनु मन्डल २०,श्रवण यादव १५ र फिर्दोस अन्सारीले १६ रनको योगदान गरेका थिए । ओपनर निरज र अंकितले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए ।

 लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले समान दुई विकेट लिए । यस्तै, नरेश नेपाली, अनिल खरेल र तुलबहादुर थापाले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९० रन बनाएको थियो । लुम्बिनीका कप्तान देवले ९८ बलमा ११ चौका  मद्दतमा  ८९ रन बनाएका थिए ।