सन्दीप लामिछाने

आरोप लाग्दैमा खेलाडीलाई अलपत्र छोड्दैनौंः क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको आग्रहअनुसार कानुनी प्रकृयामा सहयोग गर्ने भएको छ ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपमाथि उमेर नपुगेकी एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । ट्वान्टी २० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ पाँच गते सन्दीपले ती किशोरीलाई विभिन्न स्थान घुमाएर राती सिनामंगलको एक होटलमा लगी जवरजस्ती करणी गरेको आरोप छ ।

केन्याबाटै ट्वान्टी २० शृंखला सकिएपछि एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअघि नै क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सन्दीप जमैका पुगिसकेका छन् । सिपिएलमा उनले यसपाली जमैका तालाबाजसँग सम्झौता गरेका छन् ।

बिहीबारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन नै सन्दीपको टोलीले सेन्ट लुसिया किंग्ससँग प्रतिस्पर्धा गरेको थियो । देशभित्र बलात्कारको आरोप लागेका सन्दीपलाई जमैकाले पहिलो खेलमा मैदान उतारेको थिएन । खेलमा उनको टोली दुई विकेटले पराजित भएको छ ।

बलात्कारको आरोप लागेपछि सन्दीपले टेलिफोनमा क्यानका पदाधिकारीहरुसँग कुरा गर्दै कानुनी लडाईंमा आफूलाई सहयोग गर्न आग्रह गरेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए । त्यसक्रममा सन्दीपले आफू पूर्ण रुपमा निर्दोष रहेको दाबी गरेको पनि मल्लले खेलाडीसँगको कुराकानीमा जानकारी गराए ।

आरोप लाग्दैमा राष्ट्रिय टोलीका कप्तानलाई असहयोग नगर्ने मल्लको भनाई थियो । अनुसन्धानमा प्रहरी र सम्बन्धित निकायलाई पनि सहयोग गर्ने र सन्दीपलाई पनि अलपत्र नछोड्ने भन्दै मल्लले थपे, ‘आरोप लागेकै भरमा हामीले खेलाडीलाई अलपत्र छोड्यौं भने त्यसले गलत सन्देश प्रवाह हुन्छ ।’

‘क्यानलाई सन्दीपले आफू निर्दोष भएको बताएका छन् । कानुनी उपचारका लागि क्यानले सहयोग गर्नु पर्यो भनेका छन् । उनले क्यानलाई वकिल खोजिदिन आग्रह गरेका छन् । उनी हाम्रा खेलाडी हुन्,’ मल्लले अगाडि भने, ‘आरोप लाग्दैमा उनीबाट हामी टाढा भयौं भने बाँकी खेलाडीले क्यानलाई कसरी विश्वास गर्ने ? आरोपित मात्रै हुन् । सन्दीपलाई हामीले सहजिकरण नगरे अरु खेलाडीको मानसिकता के हुन्छ ? खेलाडीलाई पर्दा क्यान भाग्दो रहेछ भन्ने नजिर बन्छ ।’