नेपाली क्रिकेट

ओन्टारियोलाई नेपालले दियो २१० रनको लक्ष्य

ओट्वा । रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङप्रेरित क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी २० अभ्यास खेलमा ओन्टारियो क्लबसामू दुई सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय नौ रनको योगफल तयार गर्यो ।

नेपालको ब्याटिङमा रोहितले सर्वाधिक ७१ रन बनाए । आक्रामक रुपमा प्रस्तु भएका रोहितले ३१ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए । यस्तै, दीपेन्द्रले पनि २७ बलमा ६ चौका र दुई छक्कासहित ५४ रनको आक्रामक इनिङ खेले ।

यसबाहेक नेपाली टिमको खातामा ओपनर पवन सर्राफले ३७ रन बनाउँदा देव खनालले २०, आदील आलमले १० र कुशल भुर्तेलले दुई रन थपे ।

बलिङमा ओन्टारियोका रेमन्ड बाइनोइ, वरुन सेहदेव, किनान टिन्टो र हसन मिर्जाले समान एक विकेट लिए ।

यसअघि पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।

पाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग टु अन्तर्गतको शृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ । त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । 

नेपाल जितसहित विश्वकप त्रिकेट लिग टु अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ ।