उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता

दीलिप स्मृति च्याम्पियन

काठमाडौं । दीलिप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आइतबार ६ स्वर्ण र ३ रजत पदकसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कांस्य पदकसहित कोटेश्वर तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको मूलपानी तेक्वान्दो डोजाङले २ स्वर्ण, ३ रजत र २ कांस्य पदक हात पार्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका सागर घिमिरे तथा महिलामा प्रतिष्ठानकी भवानी बुढाथोकी उत्कृष्ट खेलाडी चुनिए । दुबैले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।

विजेतालाई पूर्व मन्त्री विष्णु पौडेल, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, महासचिव पुरेन्द्रविक्रम लाखेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा पुरुष/महिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् । ७१औं मदन जयन्तीका अवसरमा आयोजित दुईदिने प्रतियोगितामा २ सय ३० खेलाडी सहभागी थिए ।