अभ्यास खेल

श्रीलंका नेभीलाई नेपालको एक सय ९७ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर दिपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले मंगलबार दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई एक सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९६ रनको योगफल तयार पार्यो ।

नेपालका लागि दिपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भिम सार्कीले २८,विवेक यादवले २६ र पवन सराफले २२ जोडे । त्यस्तै कप्तान सन्दिप लामिछानेले अविजित १४ रन जोडे ।

३०-४ को स्थितीमा रहेको नेपालको इनिङ दिपेन्द्र र पवन सराफले पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै  उकासेका थिए । 

दिपेन्द्रले आइतबार पहिलो खेलमा ४३ रन जोडेका थिए ।

यसअघि पहिलो खेलमा नेपाल एक सय ११ रनले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको दुई सय १५ रनको लक्ष्य पछ्याएको नेभी एक सय तीन रनमा समेटिएको थियो ।

नेपालले मार्च ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ । नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।