अन्तरप्रदेश खेलकुद

अन्तरप्रदेश खेलकुदः गण्डकी फाइनलमा

गण्डकी प्रदेश

चितवन । गण्डकी प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदको पुरुष क्रिकेटमा बिहीबार फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई ६८ रनले पराजित गर्यो ।

चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको कर्णाली १६.४ ओभरमा १०६ रनमा समेटियो ।

कर्णालीका लागि विपिन रावलले ३८ रन बनाउदा मनिश शाहीले १७ तथा विपिनविक्रम शाहीले १३ रन जोडे ।

गण्डकीका लागि कमल परियारले चार र विपिन खत्रीले तीन विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल तयार पार्यो । गण्डकीका लागि इश्वर क्षेत्रीले ६६, विपिन खत्रीले ३८ र सन्दीप क्षेत्रीले २८ रनको योगदान गरे ।

कर्णालीका लागि दिनेश अधिकारी र दिपेन्द्र रावतले समान पाँच विकेट लिए ।

बिहीबारै भएको खेलमा लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै मधेश प्रदेशले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।

मधेशले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५.३ ओभरमा ९९ रनमै समेटियो ।  अब मधेशले फाइनल प्रवेशका लागि सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ ।

महिला फुटबलः कर्णाली र सुदूरपश्चिमको खेल पहिलो हाफपछि स्थगित

चितवन । महिला फुटबलमा कर्णाली प्रदेश र सुदूरपश्चिमबीचको दोस्रो सेमिफाइनल हावा हुरीका कारण पहिलो हाफपछि स्थगित भएको छ ।

भरतपुरको शारदानगर फुटबल मैदानमा पहिलो हाफ सकिँदा सुदूरपश्चिमले १-० को अग्रता लिएको थियो । सुदूरपश्चिमका लागि कप्तान अञ्जली चन्दले खेलको १७औं मिनेटमा गोल गरिन् ।

दुई टोलीबीचको दोस्रो हाफको खेल भोलि शुक्रबार हुनेछ । कर्णाली र सुदूरपश्चिमबीचको विजेता टोलीले कोशी प्रदेशसंग फाइनल प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई २-० ले हराउँदै कोशीले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल शनिबार हुनेछ ।

पुरुष फुटबलः कोशी फाइनलमा

पुरुष फुटबलमा फाइनलमा प्रवेश गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रङ्गशालामा कोशीले  सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्यो ।

कोशीका निखील तामाङ र अभिषेक बिकले गोल गरे ।