सन्दीप लामिछाने

सन्दीप तत्काल जेल जानु नपर्ने

फाइल फोटो

काठमाडौं । बलात्कार मुद्धामा दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई बुधबार काठमाडौं जिल्ला अदालतले आठ वर्षको जेल सजाँय तोकेपछि ‘उनी कहिले जेल चलान हुन्छन्’ भन्ने चासो व्यापक छ ।

तर अदालतको आदेशअनुसार उनले तत्काल जेल जानुपर्ने छैन । यसैगरी उनले गौसाला २६ नाम दिइएकी पीडित किशोरीलाई तिर्नुपर्ने भनिएको २ लाख रुपैयाँ क्षतिपूर्ति र ३ लाख रुपैयाँ जरिवाना पनि तत्काल तिर्नु पर्ने छैन ।

अदालतले सन्दीपलाई बाहिरै बसेर पुनरावेदन गर्न पाउने छुट दिएको छ । नाबालिग बलात्कारको मुद्धा परे पनि पीडित किशोरी बालिग भइसकेको अदालतको आदेशमा उल्लेख छ ।

अधिवक्ता ज्योतीराम फुयालका अनुसार जिल्ला अदालतको फैसलाले सन्दीपलाई मुद्धाको अन्तिम किनारा नलागेसम्म बाहिरै बसेर पुनरावेदन गर्ने छुट दिएको छ ।

‘जिल्ला अदालको फैसलाअनुसार सन्दीपलाई उच्च अदालत हुँदै सर्वोच्चबाट मुद्धाको अन्तिम किनारा लागेपछि मात्र कैद र जरिवाना तथा क्षतिपूर्तिको सजाय हुन्छ । त्यसैले सन्दीपले जेल बाहिरबाटै पुनरावेदन गर्न पाउनेछन्,’ फुयालले भने ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ वर्षको कैद सजाय सुनाएको थियो । यसैगरी अदालतले पिडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने आदेश पनि दिएको छ । यसैगरी सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

अदालतबाट पुस १३ गते दोषी ठहरिएका सन्दीपलाई सजाय तोक्नका लागि बुधबारलाई पेसी तोकिएको थियो । ढकालकै इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

सन्दीपले पीडित किशोरीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको र जबरजस्ती करणी गरेको ठहर छ । गत वर्षको भदौ २१ मा सन्दीपविरुद्ध बलात्कारको उजुरी परेको थियो । उजुरीपछि असोज २० मा सन्दीप पक्राउ परेका थिए ।

जाहेरीअनुसार सन्दीपले ती किशोरीलाई भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेका थिए ।

सर्वोच्चबाट अन्तिम फैसला हुँदा समेत सन्दीप दोषी ठहर भए उनले कति समय जेल बस्नुपर्छ वा उनको सजाय के हुन्छ त ?

अधिवक्ता फुयालका अनुसार पुनरावेदनका क्रममा माथिल्ला अदालतले सन्दीपमाथिको सजाय कम गर्न सक्छ । तर माथिल्लो अदालतबाट भएको फैसलाअनुसारको समय उनले जेलमा बिताउनुपर्छ । त्यसो गर्दा उनले यसअघि नै जेलमा बिताएको ९९ दिन भने घटाइन्छ ।

गत पुस २८ गते उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसअघि उनले ९९ दिन केन्द्रिय कारागार सुन्धारामा बिताएका थिए ।

अधिवक्ता फुयालका अनुसार यदी सन्दीप सर्वोच्चबाट पनि दोषी ठहर भएमा पूरा समय नै कैद भुक्तान गर्नुपर्नेछ । मुलुकी फौजदारी संहिता २०७४ लागु हुनुपूर्व अपराधीको कैद सजायको समयमा दिन र रात तथा सार्वजनिक विदा समेत गणना गरेर कटौती गर्ने व्यवस्था थियो ।

तर मुलुकी फौजदारी संहिता २०७४ लागु भएयता त्यसरी दिन र रात तथा सार्वजनिक विदा कटौती गर्ने व्यवस्थ हटाइएको छ । जसका कारण माथिल्ला अदालतले काठमाडौं जिल्ला अदालतको बुधबारको फैसला सदर गरेमा सन्दीपले सात वर्ष दुई सय ६६ दिन जेल बस्नु पर्छ ।

‘मुलुकी फौजजारी संहिता २०७४ अनुसार मुद्धा दायर भएकाले यदी अन्तिम फैसलामा पनि सन्दीप दोषी ठहर भए उनले पहिला जेल बसेको समय कटाएर बाँकी पूरा समय नै कैद भुक्तान गर्नुपर्छ,’ फुयालले भने ।

यसैबीच अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई सबै खाले क्रिकेट गतिविधिबाट निलम्बन गरिसकेको छ ।