एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला

दक्षिण अफ्रिकाविरुद्ध भारतको सहज जित

काठमाडौं । भारतले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध ८ विकेटको सहज जित निकालेको छ ।

जोहान्सवर्गस्थित वान्डरर्स क्रिकेट रंगशालामा आइतबार दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य भारतले १६.४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

भारतका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका साई सुदर्शनले ४३ बलमा ९ चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसैगरी श्रेयस अय्यरले ४५ बलमा ६ चौका र १ छक्काको मद्दतले ५२ रन बनाए ।

दोस्रो विकेटका लागि सुदर्शन र अय्यरले ८८ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि वियान मुल्डर र एन्डिले फेहलुक्वायोले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले २७.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १६ रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका लागि एन्डिदे फेहलुृक्वायोले ३३, टोनी डी जोर्जीले २८ र कप्तान एडेन मार्करमले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तेस्रो विकेटका लागि जोर्जी र मार्करमले ३९ रनको साझेदारी गरे । भारतका लागि अर्शदिप सिंहले १० ओभरमा ३७ रन खर्चिदै ५ विकेट लिए । यसैगरी आवेश खानले ४ र कुलदिप यादवले १ विकेट लिए ।

जितसँगै भारतले ३ खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल बिहीबार हुनेछ ।