लिटल फ्लावर प्रिमियर लिग

एलपिएलः धनगढी स्पोर्टस क्लब सेमिफाइनलमा

धनगढी । कप्तान भुवन कार्की र सुनिल धमलाको उत्कृष्ट प्रदर्शनप्रेरित धनगढी स्पोर्टस क्लब खप्तड इन्डोर स्पोर्टस ट्रेनिङ सेन्टरलाई ६७ रनले स्तब्ध बनाउँदै लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करणको सेमीफाइनल प्रवेश गरेको छ।

यससँगै कैलालीको धनगढीमा जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघिनै समुह ‘बी’ बाट युथ अफ टिकापुर, समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समुह ‘डी’ बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका थिए ।

समूह ‘ए’ अनर्गत बिहीबार फाप्ला क्रिकेट मैदानमा धनगढी स्पोर्टस क्लबले प्रस्तुत गरेको को १ सय ६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोर १९.३ ओभरमा ९६ रनमै समेटियो ।  

खप्तड इन्डोरका लागि अभिषेक थापाले ४२ र प्रकाश पाण्डेले ३० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

खप्तड इन्डोरले ७९-१ को अवस्थाबाटथप १७ रन जोड्दा बाँकी ९ विकेट गुमाएको थियो । धनगढी स्पोर्टसका लागि भुवानले ४ ओभरमा मात्र १८ रन खर्चिए ८ विकेट हात पारे । यसैगरी सुनिलले २ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी स्पोर्टसले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रनको योगफल तयार पारेको थियो ।

धनगढी स्पोर्टसका  लागि ओपनर सुनिल धमलाले ५० बलमा ५ चौका र २ छक्काको मद्दतले सर्वाधिक ५० रन बनाए । यसैगरी  भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमरसिंह रौटेलाले अविजित १२ रन योगदान दिए। 

सुनिलले दोश्रो विकेटको लागि भुवनले ८४ तथा तेश्रो विकेटको लागि प्रनितसँग ५४ रनको साझेदारी गरे। खप्तड इन्डोरका लागि रवी विस्ट र आर्यन विस्टले समान दुई तथा विरेन्द्र बमले १ विकेट लिए।

प्रतियोगिताको सेमिफाइनल शुक्रबार हुनेछ । पहिलो सेमीफाइनलमा विहान ९ बजे धनगढी स्पोर्ट्स क्लब र घोडाघोडी क्रिकेट एकेडेमी तथा दोस्रो सेमिफाइनलमा दिउँसो १ बजे सत्यवती एकेडेमी र युथ अफ टिकापुर प्रतिस्पर्धा गर्नेछन्।