आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः भारतको लगातार दोस्रो जित

काठमाडौं । आयोजक भारतले आइसिसी एकदिवसीय विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा बुधबार भारतले अफगानिस्तानलाई ८ विकेट पराजित गरेको हो ।

जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ । लगातार दोस्रो पराजय व्यहोरेको अफगानिस्तान अंकविहिन छ ।

अफगानिस्तानले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्काको मद्दले सर्वाधिक १ सय ३१ रनको योगदान गरे ।

यसैगरी विराट कोहलीले ५६ बलमा ६ चौकाको मद्दतले अविजित ५५, इशान किसनले ४७ र श्रेयश अय्यले अविजित २५ रन बनाए ।

रोहित र इशानले पहिलो विकेटका लागि १ सय ५६ तथा तेस्रो विकेटका लागि विराट र श्रेयशले अविजित ६८ रनको साझेदारी गरे ।

अफगानिस्तानका लागि दुवै विकेट राशिद खानले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्ताका लागि कप्तान हस्मतुल्लाह शाहिदीले ८८ बलमा ८ चौका र १ छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी अज्मतुल्लाह ओमजाइले ६९ बलमा ४ छक्का र २ चौकाको मद्दतले ६२, इब्राहिम जाद्रनले २२, रहमनुल्लाह गुर्बाजले २१, मोहम्मद नाबीले १९, रहमत शाह र राशिद खानले समान १६ र मुजिब उर रहमानले अविजित १० रन बनाए ।

चौथो विकेटका लागि शाहिदी र ओमरजाइले १ सय २१ रनको साझेदारी गरे ।

भारतका लागि जसप्रित बुमराहले ४, हार्दिक पान्ड्याले २ तथा शार्दुल ठाकुर र कुलदीप यादवले समान १ विकेट लिए ।

पहिलो खेलमा भारतले उपाधि दाबेदार मानिएको अस्ट्रेलियालाई ६ विकेटले स्तब्ध बनाएको थियो । अफगानिस्तानले पहिलो खेलमा बंगलादेशसँग ६ विकेटको हार व्यहोरेको थियो ।