आइसिसी एकदिवसीय विश्वकप छनोट

श्रीलंकाको सुखद सुरुआत

काठमाडौं । श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोट(ग्लोवल क्वालिफायर) मा युएई एक सय ७५ रनले हराउँदै सुखद सुरुआत गरेको छ ।

क्विन्स स्पोर्ट्स क्लबमा सोमबार सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको तीन सय ५६ रनको लक्ष्य पछ्याएको युएई ३९ ओभरमा एक सय ८० रनमा समेटियो ।  

युएईका लागि वृत्य अरविन्दले ५७ बलमा चार चौकाको मद्दतमा सर्वाधिक ४१ रन बनाए । यसैगरी कप्तान मोहम्मद वासिमल ३९, अली नासिरले ३४, रमिज शाहजादले २६ र रोहन मुस्ताफाले २२ रन जोडे  ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले आठ ओभरमा २४ रन खर्चिएर ६ विकेट लिए । यसैगरी महेश थिक्सना, लाहिरु कुमारा र धनन्जय डा शिल्भाले समान समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ५५ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ६३ बलमा १० चौकाको मद्दतान सर्वाधिक ७८ रनको योगदान दिए। यसैगरी सदिरा समाराविक्रमाले ६४ बलमा नौ  चौकाको मद्दतमा ७३,पाथुम निसाकाले ७६ बलमा ५ चौको मद्दमा ५७, दिमुथ करुणारत्नेले ५४ बलमा सात चौकाको मद्दमा ५२, चरिथ असालंकाले अविजित ४८ र वानिन्दु हसरंगाले अविजित २३ रन बनाए ।

तेस्रो विकेटका लागि कुशल र सदिराले एक सय पाँच तथा पहिलो विकेटका लागि निसंका र करुणारत्नेले ९५ रनको साझेदारी गरेका थिए ।

युएईका लागि अली नासिरले दुई तथा रोहन मुस्तफा, आयन खान र बासिल हामिदले समान एक विकेट लिए ।

यसैगरी सोमबार नै सम्पन्न अर्को खेलमा ओमानले आयरल्यान्डमाथि पाँच विकेटको जित निकालेको छ ।