दोस्रो बागमती प्रदेश खेलकुद

महिला क्रिकेटः काठमाडौं च्याम्पियन

चितवन । यशोदा विष्टको अलराउन्ड प्रदर्शनप्रेरित काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत महिला क्रिकेटको च्याम्पियन बनेको छ । 

 चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा काठमाडौंले घरेलु टोली चितवनमाथि ५७ रनको फराकिलो जित निकालेको हो ।

काठमाडौंले प्रस्तुत गरेको एक सय २५ रनको लक्ष्य पछ्याएको चितवन १५.१ ओभरमा ६७ रनमै समेटियो । चितवनका लागि आरती बिडारीले २८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

काठमाडौंका लागि विपिशा शाही र संस्कृति फुयालले समान तीन तथा यशोदा विष्टले दुई विकेट लिए ।

यसअघि टस जितेर  ब्याटिङ रोजेकोको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय २४ रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि यशोदा विष्टले सर्वाधिक ४३ रन जोड्दा विन्दा कटवालले अविजित  ४० बनाइन् ।  

चितवनका लागि हेलिशा गुरुङले दुई तथा सुमन खतिवडाले एक विकेट लिए ।

फाइनलमा अलराउन्ड प्रदर्शन गरेकी काठमाडौंकी यशोदा विष्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिइन् । चितवनकी सुमन खतिवडा उत्कृष्ट ब्याटर तथा काठमाडौंकी संस्कृति फुयाल उत्कृष्ट बलर घोषित भए ।

पुरुष क्रिकेट मंगलबारदेखि चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमै सुरु हुँदैछ ।  प्रतियोगितामा रसुवा र सिन्धुली बाहेक ११ जिल्लाको सहभागिता छ ।