सहजाद र भिमको शतकीय साझेदारीमा चितवनको सानदार जित

काठमाडौं, (खेलाडी)- ओपनर मोहम्मद साहजाद र मध्यक्रमका ब्याटर भिम सार्कीको अर्धशतकप्रेरित चितवन टाइगर्सले शुक्रबार पोखरा राइनोजमाथि नौ विकेटका सानदार जितका साथ एभरेष्ट प्रिमियर लिग (इपिएल) को प्लेअफ प्रवेश सम्भावना बलियो पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको एक सय २४ रनको लक्ष्य चितवनले १६. ४ ओभरमा मात्र एक विकेट क्षतीमा पूरा गरेको थियो ।

प्रतियोगितामा चितवनको यो लगातार तेस्रो जित हो । चितवन ६ अंकका साथ शीर्ष स्थानमा छ । चितवनले पहिलो खेलमा विराटनगर वारियर्स र दोस्रो खेलमा काठमाडौं किंग्स इलेभनलाई हराएको थियो ।

चितवनका सहजादले प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पूरा गर्ने क्रममा सहजादले ५२ बलमा सात चौका र २ छक्का मद्दतमा अविजित ६३ रन प्रहार गर्दा भिमले ४२ बलमा पाँच चौका र दुई छक्का मद्दतमा अविजित ५४ रन बनाए ।

दुई रन जोड्दा ओपनर इशान पाण्डेलाई गुमाएपनि दोस्रो विकेटका लागि  सहजाद र भिमले अविजित एक सय २२ रनको साझेदारी गर्दै चितवनको रबाफिलो जित पक्का गरेका थिए ।

यसअघि विवेक यादवको अर्धशतकमा पोखरा राइनोजले चितवनलाई जितका लागि एक सय २४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रनको योगफल खडा गरेको थियो ।

 पोखराका विवेकले ४५ बलमा समान तीन चौका र छक्का मद्दतमा अविजित ५३ रन बनाए । त्यस्तै असेला गुणारत्नेले २५ र ओपनर रिचार्ड लेबीले २० रन बनाए ।

चितवनका सहाब आलम र कमलसिंह ऐरीले समान दुई विकेट लिए ।