न्यु डायमण्ड फाइनलमा 

काठमाडौं, (खेलाडी)-  न्यु डायमण्ड क्लबले नेपाल पुलिसविरुद्ध रोमाञ्चक जित निकाल्दै राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा न्यु डायमण्डले  पहिलो सेट २५-१८ ले गुमाए पनि १७-२५ को फराकिलो अन्तरमा दोस्रो सेट आफ्नो पक्षमा पारेको थियो ।

तर पुलिसले तेस्रो सेट २५-२१ ले  जित्दै पुनः अग्रता लियो । चौथो सेटमा डायमण्डले पुनरागमन गर्यो । उक्त सेट डायमण्डले २५-१७ ले जितेपछि खेल निर्णायक तथा पाँचौ सेटमा धकेलिएको थियो । 

निर्णायक सेटमा १५-१० को अन्तरमा पुलिसलाई हराउँदै डायमण्डले एपिएफविरुद्धको उपाधी भिडन्त पक्का गर्यो । 

नेपाल भलिबल संघको आयोजनामा भएको ६ दिने प्रतियोगिताको शनिबार फाइनल हुनेछ ।


आजै हुने पुरुषतर्फको पहिलो सेमिफाइनलमा नेपाल पुलिस र साविक विजेता हेल्प नेपालबीच प्रतिस्पर्धा हुँदैछ ।